ओलीको कम्युनिस्ट सरकारको हर्कतविरुद्ध नेविसंघको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मात्र कोरोना संक्रमित बिरामी अस्पताल भर्ना हुन पाउने व्यवस्था गैरलोकतान्त्रिक भएको भन्दै विरोध जनाएको छ ।

आइतबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारको यस्तो गतिविधि गैरलोकतान्त्रिक र स्वास्थ्य सम्बन्धी मौलिक हकको ठाडो उल्लंघन भएको बताएका छन् ।

‘विश्व महामारीको अवस्थामा सरकारले सबै बिरामीलाई सहज रुपमा आकस्मिक स्वास्थ्य सेवा प्रदान नगरी सरकारका केही अधिकारीको सिफारिसका आधारमा मात्र विरामीलाई आइसोलेसन तथा आईसीयु बेडहरू दिने भन्नु वर्तमान सरकार निकट रहेका केही व्यक्तिहरूलाई मात्र बाँच्न पाउने अधिकार छ भन्नु नै हो’, ढुंगानाले भने, ‘त्यसकारण खड्गप्रसाद ओली नेतृत्वको सरकारको यस्तो तानाशाही कदमको नेविसंघ घोर भर्त्सना गर्दछ ।’

उनले कम्युनिसट सरकारले आम जनताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

‘कोरोना उपचारमा समेत राजनीति गर्ने सरकारको दुष्प्रयास कदापि क्षम्य छैन’, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार नयाँ निर्देशिका जारी गरेको थियो ।

निर्देशिकामा काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको एचइओसी (हेल्थ इमजेन्सी अपरेशन सेन्टर)सँग सिफारिस लिनुपर्ने उल्लेख छ ।

Published : Sunday, 2020 August 23, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया