कांग्रेसका खत्रीद्वारा ओलीका भक्त महेश बस्नेतको लीलाको भण्डाफोर

भक्तपुर । नेपाल कांग्रेस भक्तपुरका युवा नेता श्याम खत्रीले धुन्धुकारी कम्युनिस्टहरूले आफूविरुद्ध फैलाएको भ्रमको खण्डन गरेका छन् ।

खत्रीले सामाजिक सञ्जालमार्फत आफू कांग्रेसको इमान्दार कार्यकर्ता भएको र सधैँ कांग्रेस भएर इमान्दारिताका साथ लगिरहने बताएका हुन् । उनले नेकपाका नेताहरूलाई आफूविरुद्ध जथाभावी प्रचारबाजी नगर्न चेतावनी दिएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुका कांग्रेसका सक्रिय कार्यकर्ता एवम् युवा नेता खत्रीलाई नेकपा नेता एवम् सांसद महेश बस्नेतले नेकपामै रहेको भनेर समाचारहरू लेखाएका थिए । बस्नेतले खत्रीका विरुद्ध नानाथरीका प्रचारबाजी र हल्लाहरू गरेपछि खत्रीले बस्नेतलाई गलत प्रचारबाजीमा नलाग्न चेतावनी दिएका छन् ।

खत्रीले आफू ०७६ सालदेखि कांग्रेसको सक्रिय कार्यकर्ताको रुपमा कार्यरत रहेको बताएका छन् ।
खत्रीले आफू २०७६ सालदेखि कांग्रेसमै सक्रिय रहेको र आजीवन कांग्रेस पार्टीमै रहेर देश र जनताको सेवामा समर्पित हुने बताएका छन् ।

‘मेरो नेपाली कांग्रेस पार्टी र नेताप्रति सदैव उच्च सम्मान छ’, खत्रीले नेकपाका महेश बस्नेतलाई चेतावनी दिँदै भनेका छन्, ‘मैले ०७६ सालमै नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमै गएर सदस्यता लिएर सक्रियतापूर्वक कांग्रेसको विधि विधान र नियमअनुसार यस पार्टीमा सकृय रुपमा लागिपरेको छु ।’

‘विषम परिस्थितीमा यो देश र जनताको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस नै भएकोमा दुईमत छैन’, उनले भनेका छन्, ‘देश र जनता डुब्नै लाग्दा पनि भ्रष्टाचारमा लिप्त भएर मुलुकलाई आर्थिक रुपमा टाट पल्टाउन खोज्ने कम्युनिस्ट सरकारविरुद्ध हामी युवाले एकमत हुन र नेपाल र नेपालीको रक्षाका खातिर कांग्रेसमा आवद्ध हुन म सबैलाई आह्वान गर्दछु ।’

‘म कसैको दबाब र प्रभावमा नेपाली कांग्रेसमा गएको होइन’, उनले भनेका छन्, ‘अब यो मेरो बाँकी जीवन नेपाली कांग्रेसको माध्यमबाट यो समाज र देशको सेवा गर्ने प्रण गर्दछु ।’

‘हिजो, आज र भोलि र दीर्घकालसम्म नेपाली कांग्रेसमै रहन्छु’, उनले भने, ‘मेरो विषयमा सञ्चार माध्यममा जे जस्तो समाचार आयो त्यो सरासर गलत थियो ।’

नेपकाका अध्यक्ष समेत रहेका कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका खास मान्छे हुँभन्दै आएका बस्नेतले नानाथरीका हर्कत गरेपछि कम्युनिस्टहरू बदनाम हुँदै गइरहेका छन् ।

पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसद किसान श्रेष्ठसँग मिलेर सांसद अपहरण काण्डमा परेका सांसद बस्नेतका हर्कतले ओली र नेकपालाई ठूलो धक्का दिइसकेको छ । तैपनि भक्तपुरमा कांग्रेसका नेताहरूको खोइरो खन्न बस्नेत सक्रिय भएपछि खत्रीले नङ्ग्याइदिएका छन् ।

Published : Sunday, 2020 August 23, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया