कांग्रेसद्वारा दिदीबहिनीहरूमा शुभकामना व्यक्त, सुरक्षित रहन देउवाको अनुरोध
काठमाडौं । नेपाली कांग्रेसले हरितालिका अर्थात तीज पर्वको अवसरमा नेपाली दिदीबहिनीहरूलाई शुभकामना दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार शुभकामना सन्देश जारी गरेर सुरक्षित रहेर तीज पर्व मनाउन अनुरोध गरेका हुन् ।
‘मेरो व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
‘हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ’, देउवाले भने, ‘ यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् ।’
‘हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरूले योगदान गर्दै आएका छन्’, शुभकामना सन्देशमा देउवाले भने, ‘अतः सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फूलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको छ ।’
‘तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ’, उनले भने, ‘देश अहिले कोरोना भाइरस (कोभिड—१९) को महामारीबाट आक्रान्त छ ।’
‘यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन म सबैलाई आग्रह गर्दछु’, कांग्रेस सभापति देउवाले अनुरोध गरेका छन् ।
‘यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस्, म हृदयदेखि पुनः शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।
कोरोना महामारीका कारण यस वर्ष तीज पर्व घरमै आफन्तजनसँग मनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया