राष्ट्रिय झण्डा जलाउनेहरूलाई हदैसम्मको कारबाही होस्ः तरुण अध्यक्ष बस्नेत

काठमाडौं । नेपाल तरुण दलले केही दिनअघि मात्र जातीय र सांस्कृतिक द्वन्द्व निम्त्याउने गरि एउटा सांगीतिक भिडियो युट्युबमा सार्वजनिक गरिएको भन्दै चिन्ता जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर सार्वजनिक भएको भिडियोमा देशको राष्ट्रिय झण्डा जलाउने कार्य गरिएको देखिन आएको भन्दै दोषी सबैलाई कारबाहीको माग गरेका छन् ।

उनले राष्ट्रिय झण्डा जलाउने सो कार्यप्रति तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘भिडियोमा संलग्न सम्पूर्ण व्यक्तिलाई यथाशीघ्र पक्राउ गरि कडाभन्दा कडा कारबाही गरियोस्’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘भिडियो युट्युब लगायत अन्य सामाजिक सञ्जालबाट हटाइयोस् भनी नेपाल सरकारका सम्बन्धित निकाय समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

‘नेपाल एक बहुजातीय र बहुसांस्कृतिक मुलुक हो’, उनले भने, ‘यो मुलुकमा सबै जात, धर्म, वर्ग, समुदायको समान अस्तित्व रहन्छ ।’

‘कुनै पनि जात, धर्म, संस्कृतिमाथि हुने विभेद र अपमानबिरुद्धमा नेपाल तरुण दलले हरेक पटक खबरदारी गर्दै आइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

केही युवाहरूले मकवानपुरमा राष्ट्रिय झण्डा जलाएपछि विरोध भइरहेको छ । प्रहरीले झण्डा जलाउनेहरूलाई पक्राउ समेत गरिसकेको छ ।

Published : Wednesday, 2020 August 19, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया