कोरोनामा कम्युनिस्ट सरकार सतर्क नभएपछि कांग्रेसले सचेत गरायो
काठमाडौं । नेपाली कांग्रेसले लकडाउन खुलेपछि सरकारले कोरोनाभाइरसको जोखिमबारे आवश्यक सतर्कता अपनाउन नसकेको आरोप लगाएको छ ।
कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले शुक्रबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर सरकारले कोरोनाको जोखिमबाट बच्ने उपाय नअपनाएको बताए ।
लकडाउनका कारण नेपालको आर्थिक, सामाजिक क्षेत्रमा देखिएको समस्याहरू कम गर्न यसले सहज गर्छ भन्ने कोणबाट आम जनजीवनले राहत महशुस गरे पनि बढ्दो संक्रमणको बीचमा खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिमतर्फ गम्भीर चासो र चिन्ता उनले गरेका छन् ।
‘सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारू गर्नेतर्फ पर्याप्त ध्यान दिएन’, विज्ञप्तिमा भनिएको छ, ‘अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ ।’
‘यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको छ’, डा.महतले भने, ‘मूलभूत रूपमा सरकारका हरेक निर्णयहरू हठात र तयारीरहित देखिन्छन् ।’
‘लकडाउनको लामो अवधि बिना तयारी र बिना उपलब्धि नै सरकारले सकायो’, डा.महतले भने, ‘अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य देखिन्छ ।’
डा.महतले लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरू, सार्वजनिक यातायातहरूमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको बताए ।
‘संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराजलगायतका ठाँउहरूमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ’, संयोजक डा.महतले भने, ‘यस्तो अवस्थामा परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।’
‘लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरूमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरू पिपिई (मास्क, स्यानिटाइजर, साबुन पानी लगायत) को प्रयोग र भौतिक दूरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारीतर्फ सरकार गम्भीर देखिएन’, डा.महतले भनेका छन् ।
‘नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको बावजुद् होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरूलाई मापदण्डअनुरूप सञ्चालन गर्ने र परीक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन’, उनले भने, ‘उल्टो परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ ।’
‘सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मझौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणाबाहेक बन्द उद्योग व्यवसायलाई सहज रूपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन’, सह–महामन्त्री डा.महतले भने, ‘अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्फ सरकारको पटक्कै ध्यान गएको छैन ।’
‘लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरूलाई संक्रमणको खतरातर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चिततातर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन’, उनले भने, ‘हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौं ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया