कोरोनाबाट पुनः १ को मृत्यु, काठमाडौं उपत्यकामा ९ संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमितको संख्या थपिएको छ ।

संक्रमित हुनेमा भक्तपुरमा २, काठमाडौंमा ५ र ललितपुरका २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरि १४७ मा कोरोनाभाइरसका संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

डा.गौतमले १५६ जना कोरोना संक्रमणमुक्त भएको बताए । योसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

देशभरि सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको छ ।

पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला कोरोना संक्रमणमुक्त रहेका छन् ।

यसैबीच, वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको निधन भएको छ । नारायण अस्पतालमा उनको साउन ७ गते निधन भएको प्रवक्ता डा.गौमले बताए । योसँगै निधन हुनेको संख्या ४३ पुगेको छ ।

Published : Thursday, 2020 July 23, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया