पोखरा महानगरमा कम्युनिस्टहरू भ्रष्टाचारमा चुर्लुम्मु, कांग्रेसद्वारा कारबाहीको माग

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार पोखरामा बसेको नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितताबारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको जनाएको हो । कांग्रेसले घटनाबारे छानविनको माग गर्दै दोषीलाई कारबाही गर्नुपर्ने भनेको छ ।

कास्की कांग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकले पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारको विरोध जनाएको छ ।

टेण्डरसम्वन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारीमाथिको अभद्र व्यवहारबारे सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको छ ।

पोखरा महानगरपालिकामा तत्कालीन एमालेबाट निर्वाचितहरूको बर्चश्व रहेको छ । कम्युनिस्ट जनप्रतिनिधिहरू अनियमितता र भ्रष्टाचारमा लागेको भनेर विरोध हुँदै आएका बेला कांग्रेसले भ्रष्टाचारविरुद्ध फायर खोलेको छ ।

कांग्रेसले ३८औं वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाडाका बाढिपहिरोपीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षहरुमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै नेता गुरुङले पार्टीमा पुर्‍याएको योगदान अविश्मरणीय रहने जनाएको छ ।
बैककले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित खोराकोमुखमा पहिरोका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

बैठकले पीडित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन समेत माग गरेको छ ।

Published : Saturday, 2020 July 18, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया