प्रहरी अस्पताल पुगे आईजीपी क्षेत्री

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरेका छन् ।

क्षेत्रीले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिएका छन् ।

आईजीपी क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गरेका छन् ।

उनले उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिएका छन् ।

आईजीपी क्षेत्रीले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्ने बताए ।

उनले अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति बोली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्नुपर्ने बताए ।

अस्पतालमा देखिएका समस्याको समाधानका लागि उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।

स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीहरुले आफूमा भएका क्षमतालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्ने उनले बताए ।

समय र साधन स्रोतको सदुपयोग गर्दै प्रहरी कर्मचारीहरूले अस्पतालमा आउने बिरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न उनले निर्देशन दिए ।

अस्पतालकी मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै जाने बताइन् ।

Published : Friday, 2020 July 17, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया