सेनाका प्रधानसेनापति प्रहरी मुख्यालयमा, आईजीपीसँग भेट

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन् ।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापाबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापालाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका छन् ।

प्रधानसेनापति प्रहरी मुख्यालयमा पुगेर नवनियुक्त प्रहरी महानिरीक्षकलाई यसअघि शुभकामना र बधाइ दिने चलन थिएन ।

यस पटक प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापालाई भेटेर शुभकामना र बधाइ दिएका हुन् ।

Published : Saturday, 2020 July 11, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया