बाबुराम–हिसिला–महन्थ–उपेन्द्रहरूद्वारा विदेशी बुहारीलाई नागरिकता मागेर काठमाडौंमा प्रदर्शन

काठमाडौं । भारतबाट विवाह गरेर नेपाल आउने महिलाहरूलाई तत्काल नागरिकता दिनुपर्ने माग गरेर डा.बाबुराम भट्टराई, हिसिला यमी, अशोक राईसहितका नेताहरूले सडकमा प्रदर्शन गरेका छन् ।

भारतीय बुहारीलाई नागरिकता माग गरेर मंगलबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, महिन्द्र राय यादव, शरतसिंह भण्डारी, चन्दा चौधरीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक खारेज गर्न माग गरेर प्रदर्शन भएको हो ।

जनता समाजवादी पार्टीले विवाह गरी विदेशबाट आउने महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विधेयकको प्रावधानमा आपत्ति जनाएको छ ।

०६३ सालको नागरिकता कानूनले विवाह गरेर आएकी महिलाले चाहेमा नेपालको नागरिकता लिन सक्ने व्यवस्था गरेको थियो ।

Published : Tuesday, 2020 June 30, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया