कम्युनिस्ट नेता र मन्त्रीका छोराछोरी निःशुल्क उद्धार, गरिवसँग मोटो रकम असुलीः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्री र नेताहरूका छोराछोरी चीनमा भएकाले उनीहरूलाई निःशुल्क उद्धार गरेको आरोप लगाएका छन् ।

एउटा रेडियो कार्यक्रमसँगको अन्तर्वार्ताका क्रममा खतिवडाले कम्युनिस्ट नेता र मन्त्रीहरूका छोराछोरीलाई निःशुल्क उद्धार गर्ने सरकारले खाडीमा रहेका गरिव जनताका छोराछोरीको उद्धारमा मोटो रकम असुलेको आरोप लगाए ।

‘चीनमा सरकारका मन्त्री र ठूला नेताहरूका छोराछोरी थिए । उनीहरूलाई सरकारले तत्काल जहाज पठाएर उद्धार गर्‍यो’, उनले भने, ‘खाडी लगायतका देशमा गरिव जनताका छोराछोरी कामका लागि गएका छन् । उनीहरूको पीडा सुनिदिने कसले ? गरिव जनताको भोट पाएर सरकार बनाएको यो सरकारले ती बेखर्ची र गरिव नेपालीहरूसँग मोटो रकम असुलेर उद्धार गरेको छ ।’

कांग्रेसका युवा नेता खतिवडाले चीनबाट उद्धार गरिएका कम्युनिस्ट नेता र मन्त्रीका छोराछोरीलाई सरह खाडीमा दुःख पाएका नेपालीहरूको उद्धार गर्न माग गरे ।

खाडीमा काम गरेका गरिवका छोराछोरीसँग मोटो रकम लिएर जहाज चार्टरड गर्दा समेत मन्त्रीहरूले कमिशन खाएको भन्दै चिन्ता जनाए ।

उनले भने, ‘कोरोना भाइरसका कारण समस्यामा परेका, जागिर गुमाएका, बेखर्ची भएका नेपाली कामदारको निःशुल्क उद्धार गर्ने बेला सरकारका मन्त्रीहरू ती जनतासँग रकम असुलेर कमिशन र भ्रष्टाचारमा लिप्त भएका छन् ।’

कांग्रेस नेता खतिवडाले कोरोना संक्रमणबाट विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धारमा सरकार पूरै असफल भएको बताए । उनले स्वदेशमा पनि कोरोनाको परीक्षा र क्वारेन्टिनको व्यवस्थापनमा सरकार निकम्मा भएको बताए ।

खतिवडाले कोरोनाका नाममा भएको भ्रष्टाचारलाई नेपाली कांग्रेसले उन्मुक्ति नदिने चेतावनी दिएका छन् ।

‘कोरोनाको नाममा दश अर्ब खर्च भएको छ । स्वास्थ्य सामग्री खरिदमा मन्त्रीहरूका छोराहरू कमिशन खान संलग्न छन्’, कांग्रेसका युवा नेता खतिवडाले भने, ‘जनताले ज्यान गुमाउन थालेका छन् । सरकार आफ्ना आसेपासेलाई कमिशन खुवाउन र भ्रष्टाचार गर्न सक्रिय छ ।’

Published : Sunday, 2020 June 28, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया