मौरिघाटमा राख्न थालियो कोरोना संक्रमित, शुक्रबार ६ जना भर्ना

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकाले ‘कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर’मा कोरोना संक्रमितहरूलाई शुक्रबारबाट राख्न शुरु गरिएको छ ।

राप्ती गाउँपालिकाको मौरिघाटस्थित राप्ती प्राविधिक शिक्षालयमा बनाइएको आइसोलेसन सेन्टरमा देउखुरीका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका कोरोनाका संक्रमितहरूलाई राखिनेछ ।

शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर १, ३ र ४ नम्बर वडाका ६ जना कोरोना भाइरसको पोजिटिभ देखिएका ५ जना पुरुष तथा १ जना महिलालाई आईसोलेसन सेन्टरमा राखिएको छ ।

६ जना कोरोना पोजिटिभ राख्नु पूर्व राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरको अवस्था, खान र बस्ने ब्यवस्था लगायतका विषयमा स्थालगत अनुगमन गरेका थिए ।

कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

कोरोना पोजिटिभ ६ जना भारतबाट आएका हुन् । उनीहरू थानिय नव प्रतिभा क्वारेन्टीन र सिरीचौर क्वारेन्टीनमा बस्दै आएका व्यक्ति हुन् ।

कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरमा देउखुरी क्षेत्रमा रहेका चार वटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर उपचारको प्रबन्ध मिलाइएको छ । आईसोलेसन सेन्टरको नेपाली सेनाले सुरक्षा दिएको छ ।

Published : Friday, 2020 June 12, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया