भारतले नेपालमा ५६ वटा विद्यालयको भवन पुनःनिर्माण गर्ने

काठमाडौं । नेपालका विभिन्न ५६ वटा विद्यालयको पुनःनिर्माणको लागि नेपाल र भारतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणमा गर्ने सहमति भएको हो ।

भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन ईकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको नेपाली रुपियाँ २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरूको पुनःनिर्माण गरिनेछ ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरू नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् ।

विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ ।

भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरूको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरूसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको विज्ञप्तिमा जनाइएको छ ।

Published : Monday, 2020 June 8, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया