मन्त्री महासेठलाई बर्खास्त गर्न कांग्रेस नेतृ डा.संग्रौलाको माग

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले यातायात मन्त्री रघुवीर महासेठलाई बर्खास्त गर्न माग गरेकी छिन् ।

बिहीबार आफ्नो फेसबुक पेजमा एक संदेश लेख्दै डा.संग्रौलाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीसंग त्यस्तो आग्रह गरेकी हुन् ।

‘हरेक दिन नेपालका सडकमा कैयौं सर्वसाधारणको ज्यान गइरहेको छ, सयौं घाइते भइरहेका छन्’, उनले भनेकी छिन्, ‘सरकारले अत्यधिक सजगता अपनाएर, सुरक्षा व्यवस्था कडा पारेको भनेको दशैँ, तिहारको बीचमा (१०–१२ दिनमा) भएका सडक दुर्घटनाहरुमा मात्र झण्डै १५० जनाको ज्यान गएको छ ।’

‘न सरकार बोल्यो, न सम्बन्धित मन्त्री । सबैले अनुभव गरेको र विज्ञहरूले लामो समयदेखि भन्दै आएको कुरा नेपालमा सडक सुरक्षाको स्थिति दयनीय छ’, नेपाली कांग्रेसकी नेतृ डा.संग्रौलाले भनेकी छिन् ।

‘विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सडक दुर्घटनाको तथ्यांक दिनानुदिन बढ्दै प्रतिवर्ष ४,६२२ पुगेको छ’, उनले भनेकी छिन्, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अब हुने भनिएको मन्त्रीपरिषद पुनःगठनमा यातायातमन्त्री रघुवीर महासेठलाई पद मुक्त गर्न, यातायात सुरक्षालाइ उच्च प्राथमिकता दिने सांसदलाई मात्र उक्त पदमा नियुक्त गर्न तथा सडक सुरक्षा विधेयक जति सक्दो चाँडो संसदमा लैजान निर्देशन दिनुहुन आग्रह गर्दछु ।’

‘आर्थिक चलखेलमा मात्र ध्यान दिने भनेर विवादमा आएका मन्त्री महासेठले गत वर्ष माघ महिनामा प्रतिनिधि सभामा भएको सार्वजनिक महत्वको सडक सुरक्षा विषयको प्रस्ताव माथि छलफल हुँदा दिएको वक्तव्यमा उहाँले १५ दिनमा यो गर्छु भन्नुभयो’, डा.संग्रौलाले भनेकी छिन्, ‘१ महिनामा त्यो गर्छु भनेको कुरा संसदको रेकर्डमा सुरक्षित छ ।’

‘ती कुरा यस १० महिनाको अवधिमा केही पनि पूरा नभएकोले उनले संसदलाई झूक्याएकाले त्यसलाई जनताको अपमानको रूपमा लिएको छु’, उनले भनेकी छिन् ।

Published : Thursday, 2019 November 14, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया