ओलीद्वारा महात्मा गान्धीको प्रशंसा
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरू अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन् ।
नेपाल भारत मैत्री समाजले बुधबार काठमाडौंमा आयोजना गरेको महात्मा गान्धीको १५० औँ जन्मजयन्तीका अवसरमा ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका बारेमा चर्चा गर्न सकिने भन्दै ती विचारहरू पुराना नहुने बताए ।
‘गान्धीले सत्यका पक्षमा उभिन प्रेरित गर्नुभयो र आफू पनि उभिनुभयो’, ओलीले भने, ‘यो कहिले पनि पुरानो हुँदैन । त्यसबेलाको औपनिवेशिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो साबित भएको थियो ।’
उनले पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एक अर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै उनले हिंसाका लागि तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने बताए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गान्धी बीसौँ शताब्दीका महान् र आत्मिक चिन्तनयुक्त व्यक्तित्व भएको बताए ।
समाज परिवर्तनका लागि अहिलेको विश्वव्यापीकरणका सन्दर्भमा आणविक हतियारबाट होइन शान्तिपूर्ण दबाब र सत्याग्रहको गान्धीपथ सामयिक हुने उनले धारणा राखे ।
पूर्वराष्ट्रपति डा. रामवरण यादव, कांग्रेस नेता विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीलगायत उपस्थिति थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया