ओली सरकार पूर्वराजाको मण्डले सरकार जस्तैः खाँण

जनकपुरधाम । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार निरंकुशताको पराकाष्ठा नाघ्दै गएको बताएका छन् ।

जनकपुरधाममा सोमबार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै खाँणले खड्गप्रसाद ओली नेतृत्वको सरकार पूर्वराजाहरूभन्दा पनि ठूलो निरंकुश बनिसकेको बताए ।

राजाहरूको शाषण र अहिलेको नेकपाको शोषणमा कुनै फरक नरहेको उनले बताए । उनले भने, ‘चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण र तनहुँमा आफ्नै पार्टीका नेता डा.मीनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास यसको नमूना हो ।’

‘सबैको विचारसँग सबै सहमत हुन सक्दैनन्’, उनले भने, ‘ज्ञानेन्द्र शाहीको विचारसँग हामी सहमत नहुँदैमा बोल्नै नदिने ?, कार्यक्रमै गर्न नदिने ? अनि कुटपिटसम्म गराउने ? यो कस्तो लोकतन्त्र, गणतन्त्र हो ?’

खाँणले आफ्नो विचार पनि व्यक्त गर्न नदिने ओली सरकार पूर्व राजाको शासनकालका मण्डले जस्तो भएको बताए ।

उनले तनहुँमा आफ्ना नेता डा.मीनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास घटनाको बिरोध जनाए ।

उनले भने, ‘यो गतिविधीले ओली नेतृत्वको सरकार निरंकुश बन्दै गएको प्रष्ट छ ।’

खाँडले नेकपाले चिनियाँ कम्युनिष्ट विचार धारा नेपालमा ल्याउन खोजेकोमा आपत्ति जनाएका छन् । ‘यो विचारधारा नेपालीले स्वीकार गर्न सक्दैन्’, उनले भनेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले चीनमा मानवअधिकार पनि नभएको, प्रेस स्वतन्त्रता पनि नभएको अवस्था रहेकाले नेपाली जनताले सी विचारधारा कदापि नस्वीकार्ने बताए ।

Published : Tuesday, 2019 October 1, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया