अराजक ‘अरिँगाल’हरूलाई कारबाही गर्न चितवन कांग्रेसको दवाव
भरतपुर । नेपाली कांग्रेस चितवनले भरतपुरको चौवीसकोठीमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले आइतबार विज्ञप्ति जारी गरेर सत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट भएको घटनाको विरोध गरेका हुन् ।
‘शान्ति पूर्णरुपले नागरिकको सभा, सम्मेलन र जुलुसमार्फत आफ्नो असहमति तथा मागहरू राख्न पाइने अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार कुण्ठित हुनेगरी सत्तारुढ पार्टीका भातृ संगठनका सदस्यहरूद्वारा भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यप्रति नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्न खोज्दा एक निहत्था नागरिक ‘ज्ञानेन्द्र’ भनिने ज्ञानबहादुर शाहीमाथिको संघातिक आक्रमणप्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ’, सभापति श्रेष्ठले भनेका छन् ।
सभापति श्रेष्ठले भनेका छन्, ‘यस घटनाले १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती शासन तथा २०६२–६३ को जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूको त्याग, तपस्या र लाखौ जनताको बलिदानबाट आज संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भई संवैधानिक सर्वोच्चता, कानूनी राज्य र मौलिकहकहरूको पूर्ण व्यवस्था भएको संविधानको खिल्ली उडाइएको छ ।’
यसरी संविधानले प्रदान गरेको नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता तथा मौलिकहकको रक्षा गर्नु राज्यको दायित्व हुँदाहुँदै चितवन जिल्लाको सदरमुकाम जस्तो संवेदनशील ठाउँमा यस्ता अपराधिक कार्य हुनु अत्यन्त निन्दनीय रहेको श्रेष्ठले जनाएका छन् ।
उनले हरेक व्यक्तिको विचारसंग सहमति वा असहमति दुवै राख्न पाइने भएपनि नागरिकका आवाजलाई हिंसात्मक ढंगबाट सत्ता र शक्तिको आडमा दमन गर्ने कार्यलाई नेपाली कांग्रेस चितवन लोकतन्त्रमाथिकै आक्रमण भएको ठहर गरेको जनाएका छन् ।
यस्ता अराजक गतिविधिहरू तत्काल बन्द गरी सो घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन नेपाली कांग्रेस चितवनले माग गरेको छ ।
सभापति श्रेष्ठले अराजक गतिविधि र हर्कत गर्ने अरिँगालहरूर्लाइ कारबाही गर्नुपर्नेभन्दै अन्यथा यस्ता घटनाले संवैधानिक अधिकारमाथि ठूलो संकट आउने चेतावनी दिएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया