लोकतन्त्रका आधारस्तम्भहरू ओलीले भत्काएः डा.कोइराला
शिव देवकोटा
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सत्ता संचालकहरूले राजतन्त्रवादी र विप्लवको नेकपाका कारण लोकतन्त्र खतरामा परेको जिकिर गरेपनि सरकारकै कारण लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् ।
दुईतिहाईको दम्भ देखाउँदै महाभियोगको तरबार देखाएर न्यायालयलाई समेत प्रभावमा पार्दै आफ्नो अधिनायकवादको सपना पूरा गर्न सत्ता संचालकहरू क्रियाशील रहेको डा.कोइरालाले बताए ।
मंगलबार नुवाकोट जिल्लाको सदरमुकाम बिदुरमा नेपाली कांग्रेस नुवाकोटले आयोजना गरेको जागरण अभियान समापन कार्यक्रममा कांग्रेसका नेता डा.कोइरालाले वर्तमान सरकार मानवअधिकार, प्रेस स्वतन्त्रता र सम्पत्तिको अधिकार जस्ता लोकतन्त्रका आधारस्तम्भहरू भत्काउँदै अधिनायकवादको यात्रामा प्रस्थान गरिसकेको बताए ।
डा.कोइरालाले उदार लोकतन्त्रको पक्षपाति मानिएको कांगेसमा बिचारलाई बन्देज लगाउन खोजिएको उल्लेख गर्दै त्यसो गरिए पार्टीको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गरेका छन् ।
पार्टीमा गुट र उपगुटका कारण तिक्तता बढेको स्वीकार्दै त्यस क्रममा डा.कोइरालाले गुट उपगुटको व्यवस्थापन नभए त्यस्ता गुट उपगुट गिरोहमा परिणत हुनेतर्फ नेतृत्व सजग हुनुपर्नेमा आफू स्पष्ट रहेको उल्लेख गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले बर्तमान सरकार दुईतिहाईको दम्भमा नागरिकलाई बन्धक बनाउने शैलीमा बिधेयकहरू पास गराउने षडयन्त्रमा लागेको उल्लेख गरे ।
सरकारको गलत रबैयाको बिरोधमा एकजुट हुनुपर्ने पार्टीपंक्ति नेतृत्वकै खिलाफमा देखिने प्रवृत्ति दुर्भाग्यपूर्ण रहेको लामाले बताए ।
पार्टीभित्रका असमझदारीहरुको पार्टी भित्रै समाधान खोजिनुको साटो नेतृत्वको बिरोध गर्दा चर्चित भईन्छ भन्ने मनोदषाले पार्टी संगठन प्रभावकारी बन्न नसकेको समेत नेता लामाको भनाई थियो । 
कार्यक्रममा नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी, उपसभापति लक्ष्मण थापा, सचिव शिवप्रसाद दहाल र सुरेन्द्रराज अधिकारी, कोषाध्यक्ष महेन्द्र थिङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटा, नुवाकोटका प्रवक्ता राजु थापा, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ, २ नम्वर क्षेत्रीय सभापति जगतबहादुर तामाङ, महाधिबेशन प्रतिनिधि सीता मिजार, महिला बिभागकी संयोजक हीरा पाण्डे, जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापा, तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डे, कांग्रेस नेता बिनोद पाठक, नेबिसंघका नेता कृष्ण मिश्र लगायतले नुवाकोटमा पार्टी संगठन मजबुत हुँदाहुँदै पनि नेतृत्व बिचको अनेकताका कारण पराजय ब्यहोर्नुपरेको उल्लेख गर्दै नेतृत्व एकताबद्ध नभएसम्म पार्टी गतिशील हुन नसक्ने धारणा ब्यक्त गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया