तरुण दलद्वारा काठमाडौंमा प्रदर्शन, अध्यक्ष आएनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा तरुण दलले आइतबार ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भएको छ ।

संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको विरोधमा प्रदर्शन गरिएको तरुण दलले कार्यक्रममा जनाएको थियो ।

संविधान दिवसका दिन राष्ट्रपति भण्डारीले कार्यक्रममा आफूभन्दा अगाडि बोलेका कांग्रेस सभापति देउवाले दिएको अभिव्यक्ति आफूले केही पनि नबुझेको भनेकी थिइन् ।

नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफ्नो पार्टीका सभापति देउवामाथि राष्ट्रपति भण्डारीले जानाजान घोचपेच गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाएका छन् ।

तरुण दलले भ्रष्टाचार, बढ्दो महँगी, तस्करी र कालो बजारी विरुद्ध आयोजना गरेको ‘तरुण युवाको खबरदारी’ कार्यक्रममा पनि सोही असन्तुष्टि पोखिएको छ ।

तरुण दलका नेता–कार्यकर्ताहरुले राष्ट्रपतिलाई पदीय मर्यादामा बस्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

खबरदारी कार्यक्रमअन्तर्गत तरुण दलले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शनसमेत गरेको छ ।

प्रदर्शनमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र उनी निकट कार्यकर्ताहरू भने सहभागी थिएनन् ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको आह्वानमा आयोजित प्रदर्शनमा उनीनिकटका नेता–कार्यकर्ताहरूमात्रै उपस्थित थिए ।

अध्यक्ष बस्नेत र महासचिव शाहीले भदौ २८ गते एक–अर्कालाई कारवाही गर्दै साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निष्कासन गरेका छन् । तरुण दलभित्र अध्यक्ष बस्नेत र महासचिव शाहीबीच ठूलो द्वन्द्व छ ।

Published : Monday, 2019 September 23, 1:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया