कम्युनिस्ट सरकारविरुद्ध पत्रकार महासंघको धर्ना

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निकालिएका पत्रकारहरूको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले सिंहदरबार छेउमा धर्ना दिएको छ ।

महासंघले आइतबार सिंहदरबारको दक्षिण गेट नजिकै हनुमानस्थानमा धर्ना दिएको हो ।

लामो समयदेखि प्रसारण केन्द्रमा काम गर्दै आएका डोटीका पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई एक महिनाअघि रेडियो नेपाल व्यवस्थापनले निकालेको थियो ।

उनीहरूको पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ आन्दोलनमा छ ।

केही दिनअघि सिंहदरबारभित्र रेडियो नेपालअगाडि धर्ना बसेका पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

पत्रकार महासंघ उपाध्यक्ष विपुल पोख्रेलले राजनीतिक आस्थाका आधारमा श्रमजीवी पत्रकारलाई सरकारले निकालेको आरोप लगाएका छन् ।

‘इतिहास पढ्नेहरूलाई थाहा छ, पत्रकार महासंघलाई जिस्क्याउनेहरू सिद्धिएका छन्, फेरि त्यही इतिहास दोहोरिन सक्छ’ उनले भने ‘रेडियो नेपालको व्यवस्थापनले बेलैमा सोचोस् र श्रमजीवी पत्रकारको हकहितमा खेलबाड नगरोस् ।’

धर्नामा महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, प्रेस युनियनका बाला अधिकारी, मधेसी पत्रकार मञ्चका मोहन सिंह, महासंघ काठमाडौं अध्यक्ष शान्ताराम बिडारी, रेडियो नेपाल शाखाका दुर्गा फुयाँललगायतले निकालिएका पत्रकारलाई तत्काल पुनर्बहालीको माग गरेका थिए ।

Published : Monday, 2019 September 23, 12:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया