बामदेव गौतम निकटका पूर्वसांसद पक्राउ

काठमाडौं । तत्कालीन नेकपा (एमाले)का संविधानसभाका पूर्व सभासद् (सांसद) डोलबहादुर कार्की (डीबी)लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीका एसपी दीपक रेग्मीका अनुसार कार्कीलाई बिहीबार बिहान काठमाडौंबाट पक्राउ गरिएको छ । कार्कीलाई अदालतले दोषी ठहर गरेको कारण पक्राउ गरिएको रेग्मीले बताएका छन् । कार्कीका बारे फाइलहरू अध्ययन भइरहेको छ ।

कार्कीको पुख्र्यौली घर स्याङ्जा हो । हाल लमजुङ निवासी कार्की समानुपातिकको कोटामा पहिलो संविधानसभामा तत्कालीन एमालेबाट सभासद् भएका थिए ।

उनले २०६७ मा प्रहरी भर्नाका क्रममा जागिर लगाइदिने भन्दै एक दर्जन बढी सर्वसाधारणसँग रकम उठाएका थिए ।

कार्की एक लाख रुपियाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ पनि परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।

सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई ६ महिना कैदा र एक लाख रुपियाँ जरिवाना तोकेको थियो ।

सो निर्णयमा चित्त नबुझेर कार्की सर्वोच्च अदालतमा गएका थिए ।

कार्की पूर्वगृहमन्त्री वामदेव गौतमका निकटतम मानिन्छन् । पहिलो संविधानसभाको चुनावपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गौतम गृहमन्त्री हुँदा प्रहरी सरुवा बढुवामा कार्कीको हालिमुहाली निकै चल्थ्यो ।

बामदेव गौतम प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीलाई भेट्न सिंगापुर गएका बेला कार्कीलाई सीआईबीले पक्राउ गरेको छ ।

०७४ सालको प्रतिनिधि सभा निर्वाचनका बेला बामदेव गौतमको निर्वाचन क्षेत्र बर्दिया गएर डीबी कार्कीले प्रचार प्रसारमा भाग लिएका थिए ।

Published : Thursday, 2019 September 5, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया