भारतको सहयोगमा प्रधानमन्त्रीको जिल्लामा स्कुलको भवन निर्माण

झापा । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ५ अवस्थित श्री स्कुलचौन उच्च माध्यामिक विद्यालयका लागि नवनिर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमतकुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेललगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्ध प्राप्त यस स्कुलचौन उच्च माध्यामिक विद्यालय सन् १९६५ मा प्राथमिक विद्यालयबाट शुरु भई सन् २००८ मा उच्च माध्यामिक विद्यालयमा स्तरोन्नती भएको थियो ।

विद्यालयले उच्च माध्यामिक तहका विभिनन कार्यक्रमहरू प्रदान गर्दै आएको छ । झापा जिल्ला प्रधानमन्त्री केपी ओलीकाे गृहजिल्ला पनि हाे ।

विद्यालयमा करीव ११५० विद्यार्थी अध्ययनरत छन् । जसमा ६० प्रतिशत छात्रा रहेका छन् । श्री स्कुलचौन उच्चमाध्यमक विद्यालय झापा जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा परिचित छ ।

भारत सरकारको ३.५७ करोड रुपियाँ अनुदान सहयोगमा निर्मित यस दुई तले नयाँ संरचनामा २५ वटा कक्षा कोठाहरू रहेका छन् ।

जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखा शाखा, बहुउदेश्यीय कक्षाका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचरका साथ शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएका छन् ।

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा भारतीय राजदूतावासले लिएको छ ।

भारत सरकारको यस परियोजनासँग जोडिन पाएकोमा खुसी व्यक्त गरिएको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना पनि गरिएको छ ।

Published : Wednesday, 2019 September 4, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया