कांग्रेसले सातो लिएपछि झस्कियाे सरकार, सिंहदरबार र सिंगापुरबीच हेलोहाइ मात्रै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सिंगापुरबाट मन्त्रिपरिषदको बैठक बसालेको भनेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको सातो लिएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना मन्त्रीहरूसँग हेलोहाइ गरे एक घण्टा बिताएका छन् ।

स्वास्थ्योपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार मन्त्रिपरिषदका सदस्यसँग मंगलबार दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल गरेका हुन् ।

ओलीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अरू मन्त्रीको उपस्थितिमा सरकारका कार्यप्रगति सम्बन्धमा जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

पोखरेलको ब्रिफिङलगत्तै प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको दायित्व प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका छन् ।

ओलीको मिर्गौलाको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

मन्त्रिपरिषदका सदस्यहरूलाई आफ्नो स्वास्थ्योपचार राम्रो भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भदौ २० मा फर्कने पूर्वनिर्धाति कार्यक्रम रहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निष्कासन गरी निराकरणका लागि प्लाज्माफेरेसिसको चक्र पूरा हुन लागेको प्रमुख राजनीतिक सल्लाहकार रिमालले बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओली भदौ ५ मा उपचारका लागि सिंगापुर गएका थिए ।

यसअघि ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद्का सदस्यहरूसित भदौ ९ मा पहिलो पटक टेलिप्रिजेन्स छलफल गरेका थिए ।

टेलिप्रिजेन्स छलफल मात्र भएको तर मन्त्रिपरिषदको औपचारिक बैठक भने नभएको रिमालले बताएका छन् ।

प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषदका बैठक र छलफल गर्न सकिने मन्त्रिपरिषद्को कार्य्विधि नेपाल सरकारले यसअघि नै पारित गरिसकेको छ ।

यसअघि टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषदको बैठक बसालेपछि नेपाली कांग्रेसले संसदमा हँगामा मच्चाएको थियो । कांग्रेसको जवाफ दिन कम्युनिस्ट सरकारलाई समस्या भएको थियो ।

नेपाली कांग्रेसले मन्त्रिपरिषदको बैठक टेलिप्रिजेन्समार्फत गर्दा देशको गोपनीयता भंग हुनेभन्दै विरोध जनाएको हो ।

Published : Tuesday, 2019 September 3, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया