नेकपामा वितृष्णा बढ्यो, पार्टी छाडेर कांग्रेसमा प्रवेश

नुवाकोट । नुवाकोट जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ककनी गाँउपालिकाका नेकपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपामा वितृष्णा बढेपछि पार्टी छाडेर दर्जनौ युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेमा प्रकाश लामा, जगदीश लामिछाने, दिनेश खनाल, शेष राज, गोबिन्द लामिछाने, अनम तामाङ, रामकुमार नेपाल, सञ्जीव तामाङ, राज तामाङ, अशोक लामा, ज्ञनराज घिमिरे, अर्पण लामा, धनबहादुर लामा, झङकनाथ घिमिरे, उत्तर लामा, सुरज लामा लगायत ३४ जना रहेका छन् ।

नव प्रवेशीहरूलाई नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

समृद्ध नेपालको सपना देखेर नेकपालाई मतदान गरेपनि सरकार गठनपछि अराजकता र भ्रष्टाचारमा डुबेपछि पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको उनीहरूले जनाएका छन् ।

नेकपाका नेताहरूमा सत्ताको उन्माद चढेको भन्दै उनीहरू कम्युनिस्टहरूको आलोचना गरेका छन् ।

Published : Tuesday, 2019 September 3, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया