सिटौला समूहका विद्यार्थी नेताहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा हुने दलीय भागबण्डाको विरोधमा काठमाडौंमा खबरदारी र्‍याली निकालेको छ ।

राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गर्ने परम्पराले विश्वविद्यालयहरूको शैक्षिक वातावरण धमिलिएको भन्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूह निकटका विद्यार्थी नेताहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले विश्वविद्यालयहरूलाई व्यापारिक अखडामा रुपान्तरण भएको भन्दै प्रदर्शन गरेको जनाएका छन् ।

सिटौला समूह निकटका विद्यार्थी मात्रै उपस्थित विद्यार्थी नेताहरूले माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

उनीहरू ‘हाम्रो शिक्षा हाम्रो देश, भागबण्डामुक्त शैक्षिक परिवेश’ भन्ने नारा लगाएका थिए ।

खबरदारी ¥याली आयोजनाको संयोजन नेविसंघ नेता नवराज त्रिपाठीले गरेका थिए । र्‍यालीपछि नयाँ बानेश्वरमा कोणसभा आयोजना गरिएको थियो ।

कोणसभालाई नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सम्बोधन गरेका थिए । उनलेनेबिसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै, दलीय भागबण्डाका आधारमा नियुक्त भएका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिए ।

काफ्लेले नेपाली कांग्रेस पार्टीभित्र पनि नैतिकता र विधानको पालना नभए बिद्रोह गर्ने बताए ।

नेविसंघका नेता त्रिपाठीले नैतिकता र ज्ञान हासिल गर्ने विश्वविद्यालयलाई नै सरकारले अनियमितताको अखडा बनाएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

उनले विश्वविद्यालयमा दलिय भागबण्डा नरोकिए त्यसका विरुद्ध नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

त्रिपाठीले विश्वविद्यालयको नेतृत्वमा विशुद्ध शैक्षिक र प्राज्ञिक व्यक्तित्वहरूलाई ल्याइनुपर्ने बताए ।

उनले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिका लागि सरकारले एक स्वतन्त्र र स्वायत्त छनोट समिति गठन गनुपर्ने माग गरे ।

त्रिपाठीले उक्त समितिले योग्यता र कार्यदक्षताको आधारमा पदाधिकारी नियुक्ती सिफारिस गर्नुपर्ने जोड दिएका छन् ।

कोणसभालाई नेबिसंघका निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, युवराज पाण्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

नेबिसंघ नेता मानीष सिम्खडाले माग कार्यान्वयन नभएसम्म चरणबद्ध रुपमा दबाब कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिए ।

कार्यक्रममा गोपी सिवाकोटी, बिपिन अधिकारी, निमा गिरी, सुदीप शर्मा, रत्नहरि ढुंगेल, शैलेन्द्र शर्मा, हरि आचार्य, निरञ्जन थापा लगायतका नेविसंघ नेताहरूको उपस्थिति रहेको थियो ।

सिटौला समूहका विद्यार्थी नेताहरूले अरु विद्यार्थी नेताहरूलाई कार्यक्रममा निम्तो दिएका थिएनन् ।

Published : Sunday, 2019 September 1, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया