भक्तपुरमा केपी ओलीको घर नजिकै तरुण दलद्वारा रक्तदान

भक्तपुर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल भक्तपुरले रक्तदान कार्यक्रम गरेको छ ।

वीपी कोइरालाको १०५औं जन्मजयन्तीको अवसरमा तरुण दल सूर्यविनायक नगरपालिका वडा नम्बर ४ कार्यसमितिले दधिकोटको चित्रपुरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए ।

नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र नेपाली कांग्रेसका शुभेच्छुकहरूले रक्तदान गरेका हुन् । रक्तदान गर्नेमा स्थानीय समाजसेवीहरू पनि रहेका थिए ।

रक्तदान कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले पनि रक्तदान गरेको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए ।

विभिन्न सामाजिक कार्यमा संलग्न रहेको भक्तपुर तरुण दलले प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीको निवास बालकोट नजिकै रक्तदान गरेर उदाहरणनीय काम गरेको छ ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासहितका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Saturday, 2019 August 31, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया