दण्ड, सजायले प्रेस र प्रजातन्त्र बलियो हुँदैनः कांग्रेस

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेलले संविधानमा भएको व्यवस्थाअनुसार मिडिया विधेयक आएको भन्दै विधेयकभित्र रहेका केही व्यवस्थामा विरोधको सूचना दर्ज गरिसकेको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा सहभागी हुँदै पाण्डेलले प्रेसलाई दमन गर्न नहुने बताए ।

‘सरकारले प्रेस जगतलाई स्वनियमभित्र रहने गरेर विधेयक ल्याउनुपर्छ भनेका थियौं’, उनले भने, ‘त्यसरी विधेयक आउन सकेन । सोही कारण हामीले विरोधको सूचना दर्ज गरायौँ ।’

प्रेस राज्यको चौथो अंग रहेको भन्दै नेपाली कांग्रेसका सांसद पाण्डेलले भने, ‘जति धेरै हामी आत्मअनुशासन रह्यौँ त्यति नै प्रजातन्त्र समृद्ध र समुन्नत भएर जान्छ ।’

‘दण्ड सजायको भरमा प्रजातन्त्र बलियो हुँदैन’, उनले भने, ‘राज्यको चौथो अंगलाई जति आत्मस्व अनुगमन गर्न दियो त्यति नै प्रजातन्त्र बलियो हुन्छ ।’

नेपाली कांग्रेसका सांसद पाण्डेले प्रेसलाई स्वतन्त्र जिम्मेवारीअनुसार चल्न दिनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद बृखेषचन्द्र लालले मिडिया काउन्सिल विधेयकको स्वागत गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सासदहरूले अनलाइन र सामाजिक सञ्जालले हैरान बनाएको आरोप लगाए ।

उनीहरूले अनलाइन मिडियाहरूका लागि मिडिया काउन्सिल विधेयक उचित रहेको बताए ।

Published : Friday, 2019 August 30, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया