खतिवडाले कांग्रेसको ‘नर्सरी’ ब्युताउन भनेपछि तालीले स्वागत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले विरक्तिएको राजनीतिलाई सहि ठाउँमा ल्याउन युवाहरूलाई सहि रुपमा परिचालन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार ग्लोबल युथ अलाएन्सले आयोजना गरेको ‘युवा र राजनीति’ विषयक गोष्ठिलाई सम्बोधन गर्दै खतिवडाले राजनीतिबाट युवाहरूको निराशा बढिरहेका बेला युवाहरूलाई सहि रुपमा परिचालन गर्ने बेला आएको बताए ।

उनले चालीस वर्षमुनिका व्यक्तिले अहिले अधिकांश विश्वका देशहरूमा राष्ट्रपति र प्रधानमन्त्री भएर चलाइरहेको बताए ।

‘नेपालको राजनीति अलिक फरक अवस्थामा छ’, उनले भने, ‘नेपाली कांग्रेसको नर्सरी नेविसंघ बिघठनको अवस्थामा छ ।’

शेरबहादुर देउवा, विमलेन्द्र निधि नेविसंघको राजनीतिबाट आएको भन्दै उनले भने, ‘०७ सालमा वीपी कोइराला कति वर्षको हुनुहुन्थ्यो होला ? शेरबहादुर देउवा र विमलेन्द्र निधि नेविसंघको अध्यक्ष हुँदा कति वर्षको हुनुहुन्थ्यो ? बिडम्बना अहिले नेविसंघ बिघठनको अवस्थामा छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले नेविसंघलाई सहि रुपमा सक्रिय बनाउन सुझाव दिए । उनले भने, ‘नेपाली कांग्रेसको नर्सरी भनेको नेविसंघ हो । तरुण दल हो । युवाहरू हुन् । उनीहरूलाई परिचालन गर्ने बेला आएको छ ।’

नेता खतिवडाले भने, ‘नेपाली कांग्रेस बिग्रियो बुढाले, कम्युनिस्ट बिग्रियो कुरा र भुराले । सत्य कुरा बोल्दा तपाईहरूको ताली आउँछ । नेताहरूको गाली खाइएला भन्ने डर छ ।’ उनले चाहे जे भएपनि नेपाली कांग्रेसले युवाहरूलाई परिचालन गर्ने बेला आएको बताए ।

‘अहिलेको आवश्यक्ता विरक्तिएको युवालाई सहि समयमा सहि रुपमा परिचालन गर्ने हो’, उनले भने, ‘दुईतिहाइको सरकार हरेक ठाउँमा फेल भएको बेला एकताको सन्देश दिएर गुटको होइन जुटको राजनीतिक सन्देश दिएर जानुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले सिंगापुरको अस्पतालमा बसेर भिडियो कन्फ्रेन्समार्फत देश चलाउन खोजेकोमा आक्रोश व्यक्त गरे ।

‘सिटामोल खाएको छु भन्ने । केही भएको छैन भन्ने । सिंगापुरमा बसेर भिडियो कन्फ्रेन्सबाट देश चलाउन खोज्ने’, उनले भने, ‘निर्वाचनका बेला हिजो जनतामा देश चलाउछु भन्ने आफै चल्न नसक्ने भएर सिंगापुरमा बसेका छन् ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले बोल्दै गर्दा युवा विद्यार्थीले तालीले स्वागत गरेका थिए ।

Published : Thursday, 2019 August 29, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया