ओखलढुंगामा बजेट दुरुपयोग रोक्ने सहमति, कांग्रेसले खबरदारी गर्ने
ओखलढुंगा । ओखलढुंगाको विकास र समृद्धिका लागि स्थानीय राजनीतिक दल, जनप्रतिधिहरू, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखहरूले गम्भीर परामर्श गरेका छन् ।
सदरमुकाममा सोमबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा नेताहरूले जिल्लाको विकासका लागि गम्भीर भएर लाग्ने सहमति भएको छ । कार्यक्रममा सबैले आ–आफ्ना कार्यक्रम र योजनाहरू सुनाएका थिए ।
सांसद, पूर्वसांसद, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका मेयर तथा सरकारी कार्यालयका प्रमुखहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लाका सरकारी कार्यालयमा आएको बजेटको बारेमा कार्यालय प्रमुखहरूले जानकारी दिएका थिए । उनीहरूले ओखलढुंगामा आएको बजेट कुन–कुन प्रयोजनमा खर्च हुन लागेको हो सोको बारेमा पनि जानकारी दिएका छन् ।
सांसद र गाउँपालिकाका अध्यक्ष तथा नगरपालिकाका मेयरले आ–आफ्नो तर्फबाट भएका विकासका कार्यक्रमका बारेमा जानकारी दिए ।
नेपाली कांग्रेसका युवा नेता एवम् सांसद रामहरि खतिवडाका अनुसार ओखलढुंगा जिल्लामा विकासका कार्यक्रमहरू एकै ठाउँमा दोहोरिने र बजेट दुरुपयोग हुने क्रम बढ्न थालेपछि सबै मिलेर त्यसलाई रोक्ने प्रयास भएको बताए ।
‘एउटै योजना बनाउन सांसद, गाउँपालिका, नगरपालिका, सरकारी कार्यालय आदिले बजेट राख्छन् । अन्यत्र गाउँमा विकास हुन पाएको हुँदैन’, उनले भने, ‘पहुँचको भरमा एकै ठाउँमा चारैतिरबाट बजेट हालेर दुरुपयोग गर्नेसम्मका कार्यक्र हुन थालेका छन् । त्यसलाई रोक्ने सहमति भएको छ ।’
नेपाली कांग्रेसका नेता खतिवडाले कांग्रेस सत्तामा नरहेकाले ओखलढुंगाको विकासमा हुने खर्च र कार्यक्रमहरूको अनुगमन गर्ने बताए । उनले बजेटलाई दुरुपयोग हुन नदिने खबरदारी गर्ने बताए ।
ओखलढुंगामा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य, पिउनेपानीलगायतमा विशेष ध्यान दिएर अबसरबाट बञ्चितहरूलाई पहिलो प्राथमिकतामा राख्ने विषयमा छलफल र सहमति भएको खतिवडाले उल्लेख गरे ।
ओखलढुंगा जिल्लामा बैठकका नाममा भातमा मात्रै लाखौँ रकम खर्च भएको समाचार आएपछि जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू झस्किएका थिए । उनीहरूले सरकारी बजेट दुरुपयोग रोक्न यसरी एकै ठाउँमा जम्मा भएर तयारी थालेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया