भारतमा तरुण दलको जागरण अभियान, अनुशासनमा रहन निर्देशन

नयाँदिल्ली । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले तरुण दल अनुशासनमा कायम रहनुपर्ने बताएका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले अनुशासनले नै नेपाल तरुण दललाई बलियो बनाउने बताए । उनले तरुण दल भारतमाथि भईरहेको अनावश्यक हस्तक्षेपको पनि बिरोध गरेका छन् ।

उनले नेपाल तरुण दललाई कमजोर नसम्झिन चेतावनी दिएका छन् । नेपालमा दुईतिहाइको कम्युनिष्ट सरकारको आतंकको विषयमा पनि अध्यक्ष बस्नेतले खुलेर आलोचना गरेका थिए ।

‘दुईतिहाइको कम्युनिष्ट सरकारले भित्रबाट नै देशलाई खोक्रो बनाउँदै लगिरहेको छ । जनताको अधिकारमाथि नै धावा बोल्ने काम गरिरहेको छ’, उनले भने, ‘निर्मला पन्त काण्डदेखि मेलम्ची खानेपानी घोटाला र बालुवाटार जग्गा काण्डसम्म कम्युनिष्ट सरकारको हर्कत सबैको अगाडि छर्लंग भएको छ ।’

अध्यक्ष बस्नेतले लोकतन्त्रको रक्षाको लागि तरुण दलले सुरुवाती दिनदेखि नै आहुति दिदै आइरहेको बताए । उनले अब पनि कुनै पनि समय आहुति दिन तयार रहने प्रतिबद्धता जनाएका छन् ।

नेपाल तरुण दल सबै तह र तप्काबाट एकजुट हुनुपर्ने र नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउने तर्फ अग्रसर हुनुपर्ने उनले बताएका छन् ।

कार्यक्रममा भारतका अधिकांश तरुणहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष बस्नेतले विदेश शाखामा संगठन संचालनमा तरुण दल भारतमाथि आइरहने कठिनाईको बारेमा केन्द्रमा पनि सूचित गराई समानताको लागि पहल गर्ने जानकारी दिएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथी रुपन्देहीका प्रदेश सभा सदस्य उम्मेदवार विष्णु पोखरेल, तिलोत्तमा गाउँपालिकाका वडाध्यक्ष नारायण न्यौपाने, नेपाल दलित संघ बाजुराका अध्यक्ष भीम नेपाली, नेविसंघ भारतका अध्यक्ष अम्बिकाप्रसाद जोशी एवं अतिथीहरू नेपाली कांग्रेस बाजुरा–दिल्ली सम्पर्क समिति का अध्यक्ष प्रेम कठायत, सुदूरपश्चिम जनकल्याण समाजका अध्यक्ष ब्ल भण्डारी, सुदूरपश्चिमेली नेपाली समाज भारतका प्रतिनिधि भवानी भट्ट, महादेव भट्ट, हर्क रावत लगायात थुप्रै संघ संगठनका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बाल कलाकारहरू र पशुपति कला केन्द्रको देउडा नृत्यले मनोरञ्जन पनि दिइएको थियो ।

नेपाल तरुण दल भारतले आयोजना गरेको ‘तरुण जागरण अभियान एवं सांस्कृतिक कार्यक्रम’ नयाँ दिल्लीमा आइतबार २५ सेप्टेम्बरका दिन सम्पन्न भएको छ ।

दुई दिन चलेको उक्त कार्यक्रममा पहिलो दिन सांगठनिक छलफल भएको थियो । दोश्रो दिन भव्य सांस्कृतिक कार्यक्रमसहित समापन भएको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल भारतका अध्यक्ष राहुल रेग्मीले गरेका थिए । प्रमुख अतिथी नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले गरेका थिए ।

कार्यक्रमको संचालन नेपाल तरुण दलका सचिव नागेन्द्रप्रसाद जोशीले गरेका थिए । स्वागत मन्तव्य नेपाल तरुण दल भारतका उपाध्यक्ष नन्दराम खडकाले गरेका थिए भने स्वागत नृत्य नेपाल तरुण दल भारतका सांस्कृतिक सचिव करण बुढाको टिमले प्रस्तुत गरेको थियो ।

Published : Tuesday, 2019 August 27, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया