सबैभन्दा भ्रष्ट सरकारका मन्त्रीहरूः विमला नेपाली
काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले अहिले सबैभन्दा भ्रष्ट सरकारका मन्त्रीहरू रहेको आरोप लगाएकी छिन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद नेपालीले मन्त्रीहरूले आफन्तलाई बिचौलियाको रूपमा प्रयोग भइरहेको समेत बताइन् ।
‘वर्तमान सरकारका मन्त्रीहरूले सबैभन्दा बढी भ्रष्टाचार गरिरहेका छन्’, उनले भनिन्, ‘सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलियामार्फत मन्त्रीका आफन्तहरूले बार्गेनिङ गरिरहेका छन् भन्ने व्यापक जनगुनासोहरू आएको छ ।’
नेपाली कांग्रेसकी सांसद नेपालीले सरकारले भ्रष्टाचार अन्त्य गर्ने नीति लिएको बताउँदै आएपनि व्यवहारमा ठीक उल्टो भएको बताइन् ।
नेपालीले प्रधानमन्त्री कार्यालयदेखि अन्य सरकारी कार्यालयहरूमा ‘म भ्रष्टाचार गर्दिन’ भन्ने नारा जताततै लेखिए पनि भ्रष्टाचार सबैभन्दा अहिले भइरहेको बताइन् ।
‘अख्तियारले पनि ठूला बडाले गरेको करोडौको भ्रष्टाचारलाई नदेख्ने’, उनले भनिन्, ‘कतिपय साना कर्मचारीलाई मात्रै फसाउने गरेको पनि गुनासो आएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया