कांग्रेसको १५औं महाधिवेशन तयारीका लागि प्रा.डा.कोइरालाद्वारा पाँच समिति गठन
काठमाडौं । नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले विभिन्न पाँच वटा समितिहरू गठन गरेको छ ।
मंसिर ९ गते बसेको बैठकको निर्णयानुसार मूल तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले मंसिर २१, २२ र २३ गते हुने नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू गठन गरेका हुन् ।
संयोजक प्रा.डा.कोइरालाले प्रचार प्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महत, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एन.पी.साउद, प्रशासन समन्वय एवं स्वंय सेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई मनोनयन गरेका छन् ।
साँस्कृति समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्कीलाई मनोनयन गरिएको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सभापति शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिरको २१, २२ र २३ गते काठमाडौंको खुला मञ्चमा गर्न लागेका छन् । जिल्ला र प्रदेश अधिवेशनहरू धमाधम भइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया