एक अर्ब ६९ करोड घोटालाका नाइके सरकारका तत्कालीन मुख्यसचिव अर्याल पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल सरकारका तत्कालीन मुख्यसचिव ५९ वर्षीय एकनारायण अर्याललाई पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार स्याङजा जिल्लाको करेन्डाँडा– ४ वतन भएका अर्याललाई पक्राउ गरिएको छ । अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तत्कालीन सचिव रहेका बेला ठगी तथा संगठित अपराध गरेको अभियोगमा पक्राउ गरिएको एसएसपी जबराले बताएका छन् ।
श्रम मन्त्रालयको सचिव रहेका बेला अर्यालसहितको समूहले नेपाल र मलेसियाको सरकारबीच भएको श्रम सम्झौतामा १ अर्ब ६९ करोडभन्दा धेरै रकम घोटाला गरेको अभियोगमा पक्राउ गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बनधी कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा अर्याललाई बिहीबार विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका अर्याललाई काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ अनुमति लिएर पक्राउ गरिएको थियो ।
‘श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगी सम्बन्धी कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताको विपरीत हुने गरी गैर कानूनी रुपमा ठगी गरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर ८३ लाख ७० हजार ४ सय ३९ रुपियाँ ९२ पैसा र जीबीपी ३७ लाख १७ हजार ९ सय ८० रुपियाँ ८० पैसा गरी हुने जम्मा रकम रु. १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपियाँ ७६ पैसा सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र प्रतिकुल (मुद्रा संचितीकरणमा नोक्सानी) हुने निर्णय गरी संगठित समूहको लाभको लागि जानी जानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरूलाई संगठित रुपमा ठगी गर्ने कार्यमा मौन रही कानूनी उपचार नगरी/नगराई गैर कानूनी रुपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न मिति २०८३/०८/०२ गते सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिईएकोमा अवैध रुपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष रुपमा संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत संलग्न रहेका निम्न व्यक्तिलाई आजै मिति २०८३/०८/१० गते मोरङ जिल्ला, विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ,’ सीआईबीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारका तत्कालीन मुख्यसचिव समेत रहेका अर्यालले चलखेल गरेर कुलिङ पिरियडको व्यवस्थालाई झुक्काएर हटाउन लगाएका थिए । श्रम सचिव र मुख्यसचिव रहेका बेला अर्यालले पदीय आचरण विपरीतका धेरै कार्य र काण्डहरू गरेको आरोप लागेको थियो । तर, मुख्यसचिव भएका कारण अर्याललाई प्रहरी र प्रशासनले छुन सकेको थिएन ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको बलियो सरकारले नेपाल सरकारका तत्कालीन सचिव र पछि मुख्यसचिव बनेका अर्याललाई उनले गरेको अपराधको दण्ड दिन ठूलो हिम्मत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया