शेरबहादुरले बोलेको सत्य, देउवाको घर जलाउन उक्साउने रिजाललाई गगनले दिए थिएका धादिङमा टिकट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा गण्डकी प्रदेश अधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै भदौ २४ मा आफूमाथि आक्रमण गर्न उक्साउनेलाई गत फागुनमा सम्पन्न आम चुनावमा गगन थापाले टिकट दिएर पुुरस्कृत गरेको बताए । त्यसको जवाफमा गगन थापाले २.० कांग्रेसको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले अशोभनीय अर्मायादिन अभिव्यक्ति दिएको भन्दै देउवालाई आफ्नो राजनीतिक कद, इतिहास र मर्यादाको स्तर (लेभल) कायम राखेर अभिव्यक्ति दिन आग्रह गरे ।
यी दुवै नेताका अभिव्यक्तिलाई केलाउँदा देउवाले बोलेको विषय सत्य भएको तथ्य फेला परेको छ । भदौ २४ गते सुुरुमा तत्कालीन संचार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुुरुङको घर जलाइएको थियो । र, गुरुङको घरमा आगजनी भए लगतै गगन निकट नेता कृष्ण रिजालले आफ्नो फेसबुकमा अब पालो शेरबहादुर देउवाको भनेर लेखेका छन् । तीनै रिजाललाई गगन थापाले तथाकथित विषेश महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति भएर फागुन २१ गतेको टिकट वितरण गर्दा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनाए ।
देउवा देशको प्रधानमन्त्री ५ पटक भइसकेका व्यक्ति हुन् । उमेर, जिम्मेवारी, पद र राजनीतिक छविले पनि देउवा पाका नेता हुन् । सूचना र तथ्यविना देउवा बोल्दैनन् । गगन थापा जस्तो स्वार्थ र पद पाउन जे पनि गर्ने अराजक नेता कदापि पनि होइनन् देउवा । देउवाले तथ्य प्रमाण र बुझेरै आफ्नो घर जलाउने, कुटपिट गर्नेहरूलाई गगनले चुनावमा टिकट दिएको भनेर सत्य कुरा बोलेका हुन् ।
देउवाको घर जलाउने र देउवा दम्पत्तिमाथि कुटपिटमा संलग्न कृष्णरिजाललाई अब प्रहरी प्रशासनले कानून बमोजिम कारबाही गर्नुपर्छ । कृष्ण रिजालमाथि छानविनका क्रममा दोषी पाइएमा पाताकसेर कानून बमोजिम कारबाही गर्न माग उठेको छ । देउवा दम्पत्तिमाथि आक्रमण र घर जलाउन कृष्ण रिजाललाई उकासेको पाइएमा गगन थापामाथि पनि कानून बमोजिम हदैसम्मको कारबाही गर्न कांग्रेसभित्र माग उठेको छ ।
सो निर्वाचनमा उक्त क्षेत्रबाट अर्जुनप्रसाद उप्रेती, कविन शाक्य, खिल गिरी, बद्रीप्रसाद अर्याल, कृष्ण रिजाल, विकास अधिकारी, विश्वप्रसाद अर्याल, मनोजकुमार श्रेष्ठ, रवि सुदन थापा र राधाकृष्ण भण्डारी नाम सिफारिस भएको थियो । तर, थापाले धेरै सिनियर नेताहरूलाई छोडेर रिजाललाई टिकट दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आसिका तामाङ ३९,१२८ मतसहित विजयी भएकी थिइन् । दोश्रो नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले १५,०३२ मत र तेस्रो नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले १४,७०९ मत ल्याएका थिए । तर, गगनको रोजाईमा परेका रिजालले १०,०८० मत प्राप्त गरि चौथो भएका थिए ।
नेपाली कांग्रेस ऐतिहासिक दस्तावेज भन्ने पुस्तकका प्रधान सम्पादक गगन थापा छन् । त्यही पुस्तकमा संकलक तथा सम्पादकहरूमा प्रताप पौडेल, शंकर तिवारी र कृष्ण रिजाल छन् । रिजाल गगन थापाको कोर टिममा बसेर नेपाल विद्यार्थी संघ (नेविसंघ)देखि नै काम गरेका नेता हुन् । रिजालको भनाईलाई धेरैले गगन थापाको आधिकारिक भनाईका रुपमा समेत लिने गरेका छन् ।
रिजाललाई गगनले प्रतिनिधिसभा सदस्यको टिकट मात्र दिएनन् । अस्ती असोजमा सम्पन्न गगन समूहको महाधिवेशनमा खुल्लातर्फको केन्द्रीय सदस्य समेत बनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया