मलाई ४० वर्षमाथिकाले पिटे, जेनजीहरुले बचाए, सेनाका कर्णेल केसी र सुरक्षाकर्मीले बचाए : देउवा

मसुरिया । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहदाुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र आफ्नी पत्नी डा.आरजु राणामाथि आक्रमण हुँदा जेनजी युवाहरुले बचाएको बताएका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत सोमबार देउखुरीको पाखापानीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै देउवाले जेनजीको नाममा ४०५० वर्ष पुगेका व्यक्तिहरुले आफूहरुमाथि आक्रमण गरेको बताए । ४०५० वर्ष पुगेकाहरुले जेनजी आन्दोलनलाई हाइज्याक गरेको उनले बताएका छन् ।

सभापति देउवाले भने, ‘जेनजी आन्दोलन भएको सबैलाई थाहा छ । जेनजीले भनेको छ हाम्रो आन्दोलनमा घुसपैठ भएको छ । त्यो घुसपैठमा ४० ५० वर्षका बुढाबुढाहरु आएर त्यो आन्दोलनलाई हाइज्याक गरे । मेरो घरमा त्यही भएको हो ।’

सभापति देउवाले आफू र आफ्नी पत्नीलाई सुरक्षा निकायले सहयोग गरेको बताएका छन् । उनले नेपाली सेनाले आफूहरुलाई बचाएको भन्दै धन्यवाद पनि दिएका छन् ।

उनले भने, ‘मलाई कस्तो अवस्था थियो भने मलाई सुरक्षा निकायले सहयोग गरेको हो । आर्मीले दुई वटा हेलिकप्टर पठाएको हो । हेलिकप्टर ल्याण्ड गर्न दिइएन । ढुंगा हानियो । टाउकोमा लाग्यो । मेरो श्रीमतीकोमा पनि लाग्यो । पहिले मैले चिनेका मान्छेकोमा पनि मलाई माफ गर्नु होला चाढै जान भने । डराउने भए बिचरा । मैले मेरो श्रीमतीलाई भने भैगो राजनीतिमा लागेपछि यस्तै हुन्छ । त्यही बेला कर्णेल केसी हुनुहुन्थ्यो माथि, बस्नु हुन्थ्यो त्यहाँ । उहाँले गाडी पठाएर खोलापारी गाडी ल्याएर आउनुभयो । त्यहाँबाट आरजु र हामीलाई गाडीमा हालेर लगियो । आर्मी क्याम्पमा बस्यौँ । त्यो बेला आर्मी अस्पतालमा उपचार भयो । त्यो बेला आर्मी अस्पतालमा उपचार भइसकेको थियो उहाँहरुले तैपनि तपाईहरुले एकपल्ट विदेशमा गएर टाउकोमा चोट लागेको ठाउँमा हेर्नुस् भनेर सुझाव दिनुभयो । सिंगापुर जाऔँ न त एक फेरा भनेर आरजु र म गएका हौँ ।’

उनले भने, ‘त्यो बेला यहाँ अनेकौं घटनाहरु घटिसकेका रहेछन् । विशेष महाधिवेशन ४० प्रतिशतले माग गर्दा बोलउनुपर्ने हुन्छ । म यहाँ थिएन । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति दिएर गएको हुँ । उहाँले बोलाउनुपर्ने हुन सक्थ्यो । विशेष महाधिवेशन माग गर्नेको सनाखत हुनुपर्ने थियो त्यो मान्छे हो कि होइन भनेर । खल्तीबाट हालेर विशेष महाधिवेशन गरे । चुनाव गरेर गगन भइसक्यो पार्टी सभापति । भो अब । उहाँले मनपरी टिकट बाँड्नुभयो । आफू पनि लड्नु भो । आफू पनि हार्नुभयो । सबै साथीहरुलाई हराउनुभयो । त्यत्रो ठूलो पार्टीलाई हराउनुभयो । यसको जिम्मेवारी कसले लिने । जिम्मेवारी लिने कि नलिने ?’

‘मैले पाउन पाइसके । पाँच पटक प्रधानमन्त्री भइसके । त्योभन्दा अरु के पाउने मैले ? मैले देशलाई दिने हो । जीवनपर्यान्तसम्म देशको सेवा गर्ने हो । लोकतन्त्रको सुदृढीकरणको लागि लाग्ने हो । कसैले खोस्न नसक्ने लोकतन्त्र ल्याउने हो । लोकतन्त्रको आधारभूत सिद्धान्तलाई कसैले खोस्न नसक्ने बनाउनुपर्छ,’ सभापति देउवाले भने ।

उनले आफूलाई ४० वर्षभन्दा माथिका व्यक्तिहरुले कुटपिट गरेर हत्याको प्रयास गरेको बताउँदै जेनजीहरुले बताएको बताए । उनले भने, ‘मलाई जेनजीहरुले बचाएको सत्यकुरा हो । फोटोमा देखिएका छन् बच्चाहरु छन् । मलाई ४० वर्षभन्दा माथिकाले पिटेको हो । झण्डै मारिसकेको थियो । सुरक्षा निकाय नभएको भए । कर्णेल केसी नभएको भए हामी आज बाँच्ने पनि थिएनौँ । राम्रो काम गर्दाखेरी मर्न पनि तयार हुनुपर्छ । र, राम्रो काम गर्दाखेरी बचाउने शक्ति पनि आउँछ । बाँचिन्छ ।’

Published : Monday, 2026 November 23, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया