आरजु र मलाई मारिसकेका हुन्, हामीलाई जेनजीले बचाए, आर्मी क्याम्पमा उपचार भयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ ।’

देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएन । घर जाने बाटोमा सारा मान्छे बसिदिएर, सारा मान्छे बसे हामीले बचाउन सकेनौं भने । पछि आर्मीले गाडी पठाएर आर्मीको क्याम्पमा हामी बस्यौं । आर्मी क्याम्पमा मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’

त्यो बेला जेनजीले नै आफूलाई बचाएको उनले सुनाए । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटोमा देखिन्छ बचाउनेहरू । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुडा हाने,’ देउवाले भने ।

त्यसो हुनुका पछाडि धेरै ठूलो षडयन्त्र रहेको उनले बताए । ‘त्यसमा धेरै ठूलो षडयन्त्र थियो,’ उनले भने, ‘लौ ठीक छ, ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन । गृहमन्त्री थिए रमेश लेखक । भट्टराई निवास किन हानेको ?’

त्यो बेला वीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घर हानेको उनले स्मरण गराए । ‘देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षडयन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ देउवाले भने ।

अधिवेशनमा नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत, एन.पी. साउद, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, मेखलाल श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष दिल लामा, नेपाल विद्यार्थी संघकी अध्यक्ष श्रृजना मल्ल, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष अर्जुन गिरी लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

Published : Saturday, 2026 November 21, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया