गगनका प्रिय नेता उमेश श्रेष्ठका भाइ पक्राउ, इनमसँग ३ करोडको कारोबार, कांग्रेस बेचेको आशंका
काठमाडौं । विचौलिया इनम सापकोटासँग बैंकिङ कारोबार गरेको देखिएपछि नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरी टोलीले शनिबार महेशलाई काठमाडौंको कीर्तिपुरस्थित पाँगाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेशलाई पक्राउ गरेको जनाए पनि कारण खुलाएका छैनन् ।
महेशलाई विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको प्रहरी निकट स्रोतले जनाएको छ । महेशले विचौलिया इनम सापकोटाको खातामा ३ करोड जम्मा गरेको जनाइएको छ ।
उमेश श्रेष्ठ कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् । पक्राउ परेका महेशसँग विचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको प्रहरी स्रोतको भनाइ छ ।
महेश श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा इनमको नाममा रहेको खातामा ३ करोडभन्दा बढी रकम डिपोजिट गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।
महेश प्रक्राउ परेपनि कांग्रेस नेता उमेश भने सम्पर्कविहीन बनेका छन् । स्रोतका अनुसार उमेश श्रेष्ठ अहिले सिंगापुरमा लुकेर बसेका छन् ।
३० वर्षको उमेरमा बिचौलियाको साम्राज्य खडा गरेका इनमको नेटवर्कमा रहेका दर्जनौं उच्चपदस्थ छानबिनमा तानिएका छन् ।
सर्बोच्च अदालतका प्रधानन्यायाधीशदेखि न्यायाधीश, प्रहरीका उच्च अधिकारी तथा राजनीतिक नेतृत्वका व्यक्तिहरू छानबिनमा तानिएका हुन् ।
न्यायाधीश हरिप्रसाद फुयालसँगको त इनम सापकोटाको गोप्य च्याट नै बाहिरिएको छ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा बैंक खाता उल्लेख भएका खुलेका छन् । यद्यपि उनीहरूले भने खण्डन गरेका छन् ।
स्रोतका अनुसार बिचौलिया सापकोटा र कांग्रेसका नेता उमेश श्रेष्ठबीच घनिष्ट सम्बन्ध देखिन्छ । उनीहरूबीच अदालतका मुद्दामा सेटिङ मिलाउनेदेखि आर्थिक लेदनेदनका विषय समावेश छन् ।
जसमा कतिपय कारोबार शंकास्पद छन् । जसकारण महेश पनि सम्पत्ति शुद्धीकरणको कसूरमा तानिने सम्भावना रहेको स्रोत बताउँछ ।
व्यापारी समेत रहेका उमेश श्रेष्ठ र महेश श्रेष्ठ राजनीतिक आवरणमा गैरकानूनी कारोबारमा पनि संलग्न रहेको आरोप लाग्दै आएको छ । त्यही कारोबारको संरक्षणका लागि उमेश श्रेष्ठ पछिल्लो समय राजनीतिमा सक्रिय भएका छन् ।
इनमको बैंक खातामा महेश श्रेष्ठ र उमेश श्रेष्ठ संलग्न कम्पनीबाट तीन करोड बढी रकम ट्रान्सफर भएको प्रमाण समेत भेटिएको स्रोतले जनाएको छ । यो रकम नेपाली कांग्रेसको आधिकारिकता गगन थापालाई दिनका लागि दिएको हुन सक्ने अनुमान छ ।
उक्त रकम कांग्रेसको मुद्दा मिलाउने नाममा उमेश श्रेष्ठले नै बिचौलिया सापकोटालाई दिन लगाएको स्रोतको दावी छ । रमाइलो के छ भने शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष रहेका उमेश श्रेष्ठलाई गगन थापाले पनि कोषाध्यक्षकै जिम्मेवारी दिएका थिए । महाधिवेशनपछि पनि कोषाध्यक्ष बन्ने उमेश श्रेष्ठको प्रयास छ ।
स्रोतका अनुसार बिचौलिया इनमको बैंक खातामा महेश श्रेष्ठको जनमैत्री फाउन्डेशन र सञ्चालक रहेका महेशकुमार श्रेष्ठले पटक–पटक गरी तीन करोडभन्दा बढी रकम जम्मा गरेको देखिन्छ । प्रहरी स्रोतका अनुसार सोही प्रकरणमा उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया