एससीओ कप चेसका लागि नेपाली टोली रसिया प्रस्थान
काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने एससीओ ओपन कप बुद्धिचाल प्रतियोगितामा सहभागी हुन शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
सांघाई अन्तर्राष्ट्रिय स्टेट सदस्य राष्ट्रबीच अन्तर्राष्ट्रिय स्पोट्र्स इभेन्ट अन्तर्गत दौत्य सम्बन्ध कायम राख्ने तथा खेलाडीबीच पारस्परिक खेल अनुभव साटासाट गराउने उदेश्यले नेपाललाई आमन्त्रण गरेको अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष महर्जनको नेतृत्वमा अफिसियल राजु ताम्राकार, पुरुष खेलाडी सिएम आशिष् फुयाल र सिएम शुश्रुत दहाल तथा महिला खेलाडी सिएम कृतिसरा अधिकारी र सिएम निहाना श्रेष्ठले प्रतियोगितामा उपस्थिति जनाउने छन् ।
टोलीमा सहभागी प्रवक्ता राजु ताम्राकारले पूर्व निर्धारित खेल तालिका अनुसार २२ राष्ट्रका ८८ जना खेलाडीहरुले क्रमशः १५ तारिखमा व्यक्तिगत विधा तर्फ रापिड खेल खेल्ने बताए ।
तालिका अनुसार १६ तारिखमा व्यक्तिगत ब्लिट्ज विधातर्फका खेलहरू, १७ तारिखमा दुई पुरुष दुई महिला टिम रापिड र १८ तारिखमा टिम ब्लिट्ज खेल खेल्नेछन् ।
प्रतियोगिता अवधिमा नेपाल बुद्धिचाल महासंघले मस्को रेजियन चेस फेडेरेशनसँग चेस खेल बिकासका विविध विषयमा दुई पक्षीय महत्वपूर्ण सम्झौता हुने जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया