कांग्रेस पाउन गगनद्वारा १८ करोड र न्यायाधीश सारङ्गाको ३ करोडबारे छानविन गर्न तरुण दलको माग
काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसको आधिकारिकताका सम्बन्धमा गगन थापा, सर्वोच्च अदालतका न्यायाधीशहरू र न्यायाधीश सारङ्गा सुवेदीको कथित डिलका विषयमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानविनको माग गरेको छ ।
नेपाल तरुण दलका अध्यक्ष दिल लामाले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गगन थापाले कांग्रेसको आधिकारिकता पाउन १८ करोडको कथितडिल गरेको र न्यायाधीश सारङ्गा सुवेदीले ३ करोड लिएको विषयमा छानविनको माग गरेका हुन् ।
अध्यक्ष लामाको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादसँग जोडिएर इनम सापकोटाको बयानमा सार्वजनिक भएको १८ करोड रुपियाँको कथित आर्थिक लेनदेन र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई तीन करोड रुपियाँ दिएको भन्ने दाबीसहितको विषयप्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘सार्वजनिक बयानमा उल्लेख गरिएका यी विषय अत्यन्त गम्भीर र संवेदनशील छन्,’ तरुण दलका अध्यक्ष लामाले भनेका छन् ।
‘नेपाली कांग्रेसको आधिकारिकता पार्टीको विधान, लोकतान्त्रिक मूल्य, विधिको शासन र कानूनी प्रक्रियाबाट टुङगिनुपर्ने विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि राजनीतिक दलको आधिकारिकता आर्थिक चलखेल, शक्ति प्रभाव वा अनुचित साँठगाँठबाट निर्धारण हुने अवस्था लोकतान्त्रिक व्यवस्थाका लागि स्वीकार्य हुन सक्दैन ।’
‘विशेषगरी न्यायपालिकासँग सम्बन्धित व्यक्तिको नाम जोडेर आर्थिक लेनदेनको दाबी सार्वजनिक हुनु न्यायिक
निष्पक्षता र संस्थागत विश्वसनीयतासँग जोडिएको गम्भीर विषय हो,’ तरुण दलको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सम्बन्धित निकायले कुनै पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न नेपाल तरुण दल जोडदार माग गर्दछ ।’
‘नेपाल तरुण दल स्पष्ट पार्न चाहन्छ कि नेपाली कांग्रेसको आधिकारिकता कुनै व्यक्तिको निजी स्वार्थ वा आर्थिक प्रभावको विषय होइन,’ अध्यक्ष लामाले भने, ‘यो नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहास, विधान र लाखौं कार्यकर्ताको राजनीतिक आस्थासँग जोडिएको विषय हो ।’
‘तसर्थ, सापकोटाको बयानमा उल्लेख भएको भनिएको १८ करोड रुपियाँको कथित डिल, तीन करोड रुपियाँको कथित लेनदेन तथा यस प्रकरणसँग सम्बन्धित सम्पूर्ण पक्षको सत्यतथ्य छानबिन गरी दोषी देखिएमा कानूनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं,’ तरुण दलले माग गरेको छ ।
‘लोकतन्त्रको रक्षा, न्यायपालिकाको स्वतन्त्रता र राजनीतिक संस्थाहरूको गरिमा कायम राख्न नेपाल तरुण दल सदैव प्रतिबद्ध छ,’ नेपाल तरुण दलले भनेको छ ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गतको नेपाल तरुण दलले गगन थापाले नेपाली कांग्रेसलाई हत्याउन निर्वाचन आयोग र सर्वोच्च अदालतमा बिचौलिया इनम सापकोटामार्फत् कथित डिल गरेको बयानलाई आधार बनाएर काठमाडौंपाटी डटकम अनलाइनले समाचार प्रकाशित गरेपछि खैलाबैला भएको छ ।
आफूलाई पहिलो नम्बरको ठूला मिडिया तथा अनलाइन ठान्नेहरूले गगन थापाविरुद्धका समाचारहरू प्रकाशित गर्न नमानेका बेला काठमाडौंपाटी डटकमले हिम्मत गरेर गगन थापाको १८ करोडको कथित डिल र सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले ३ करोड कथित डिल गरेर नेपाली कांग्रेसको आधिकारिकता गगन थापालाई दिएको समाचार आइतबार प्रकाशित गरेको छ । काठमाडौंपाटीको समाचारले देश हल्लाइदिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया