कांग्रेस २.० का नेता गुरुराज घिमिरेको वडामा भाँडभैलो, ३३ निर्वाचित क्षेत्रीय प्रतिनिधिद्वारा राजीनामा
विराटनगर । नेपाली कांग्रेस, मोरङको अधिवेशनमा धाँधली भएको भन्दै झण्डै ३ दर्जन निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले सामूहिक राजीनामा दिएका छन् ।
आन्तरिक अधिवेशनमा नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको भन्दै विराटनगर महानगरपालिका वडा नं. १९ का ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले पदबाट सामूहिक राजीनामा दिएका हुन् ।
विराटनगर–१९ का निवर्तमान वडा सभापति एवं क्षेत्रीय प्रतिनिधि शेषराज राजवंशीको सभापतित्वमा शुक्रबार बसेको बैठकले अधिवेशनका क्रममा देखिएको असमानता, चरम गुटबन्दी तथा माथिल्लो तहको अवाञ्छित हस्तक्षेपप्रति तीव्र असन्तुष्टि जनाउँदै पदत्याग गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्ति अनुसार पार्टी नेतृत्वले आफू अनुकूलका व्यक्तिहरूलाई मात्र अगाडि सार्दा तल्लो तहका निष्ठावान् कार्यकर्ताको भावना उपेक्षित भएको र आन्तरिक लोकतान्त्रिक प्रक्रिया नै कमजोर बनेको छ ।
अधिवेशनका क्रममा आम कार्यकर्ताको चाहनाभन्दा पनि शक्ति र पहुँचवालाको दबाब हाबी भएको आरोप उनीहरूले लगाएका छन् ।
पार्टी नेतृत्वले कांग्रेसलाई ‘लास र दासको पार्टी होइन’ भने पनि व्यवहारमा त्यसको ठीक विपरीत अभ्यास भइरहेको प्रतिनिधिहरूले बताएका छन् ।
केन्द्रबाट जारी नीति–निर्देशनहरूको समेत उल्लंघन गर्दै गुटगत राजनीति लादिएका कारण अधिवेशनबाट पार्टी रूपान्तरणको कुनै आभास हुन नसकेको उनीहरूको ठहर छ ।
पार्टीलाई परम्परागत गुटगत घेराबाट मुक्त गर्दै स्थानीयदेखि केन्द्रीय तहसम्म नै संगठनात्मक सुधार र नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै वडाबाट निर्वाचित सबै ३३ जना प्रतिनिधिले सामूहिक राजीनामा दिएका हुन् । उक्त वडा नेता गुरुराज घिमिरेको गृह वडासमेत हो । घिमिरे भृकुटीमण्डपको तथाकथित विशेष महाधिवेशनबाट हाइज्याक भएको बदलिएको २.० कांग्रेसका महमन्त्री हुन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया