देउवाद्वारा नेता तथा कार्यकर्ताहरूलाई वडा अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी हुन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि शुरु हुन लागेको पार्टीको वडा अधिवेशनमा सहभागी हुन अपील गरेका छन् ।

बिहीबार सभापति देउवाले अपील जारी गरेर भनेका छन्, ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पूरा गरेर शुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुनु हार्दिक अनुरोध गर्दछु ।’

सभापति देउवाले पार्टीभित्रको मतभेदलाई अन्त्य गर्न १५औँ महाधिवेशनले भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘पार्टीभित्रको मतभेदलाई १५ औं महाधिवेशन मार्फत समाधान गरेर पार्टीलाई थप मजवुत बनाउने प्रण पनि गर्दछु ।’

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगतको देशभरका वडाहरूको अधिवेशन आजबाट शुरु हुँदैछ,’ देउवाले भने, ‘झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ ।’

‘हामीले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका बलिदान, त्याग र सर्घषलाई थप मजवुत बनाउन पनि १५औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ,’ सभापति देउवाले भनेका छन् ।

नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला देउवा पक्षले आज बिहीबारदेखि वडा अधिवेशन शुरु गरेको छ । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरेको गगन थापा समूहले असोज ३ गतेदेखि वडा अधिवेशन शुरु गरेको थियो ।

Published : Thursday, 2026 October 1, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया