चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन् ।

बिहीबार सम्पन्न दोश्रो चरणको खेलमा खुल्लातर्फ नेपतलले कोमोरोस आइल्याण्डससँग चुनौती पेश गर्दै ४–० को सहज जीत दर्ता गर्न सरल भएका छन् ।

सिएम पुरुषोत्तम सिलवाललाई विश्राम दिएको खेलमा नेपालका एफएम रुपेश जैसवाल, सिएम सुश्रुत दाहाल, आशिष फुयाँल र राजन सुबेदीले आ–आफ्नो खेल जित्दै नेपाललाई क्लिन स्वीप दिलाए ।

यसअघि पहिलो चरणमा नेपालका आशिष् फुयाँलको बराबरीसँगै नेपालले बलियो डेनमार्कसँग ३.५–०.५ को हार बेहोरेको थियो ।

प्रशिक्षक किरिल देरिनोभको क्याप्टेनसिपमा खेलेको दोश्रो चरण अन्तर्गत २१५१ रेटेड रुपेश जैसवालले कोमोरोसका १८६१ रेटेड मोहमद इस्माइल अजिराड्जिलाई, २०३८ रेटेड सिएम सुश्रुत दहालले १८०६ रेटेड मोहमद अब्दोलाई पराजित गरेका छन् ।

२००८ रेटेड आशिष फुयाँलले १६७७ रेटेड अजहर सैदविरुद्ध वाकओभर पाए भने १९६७ रेटेड राजन सुवेदीले १७०१ रेटेड ओमर एमचझ्गामालाई हराए ।

एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा रहेको महिलातर्फ नेपाली टोलीले अफगानिस्तानमाथि ४–० को शानदार नतिजा निकाल्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेका छन् ।

एञ्जल महर्जनले सेतारेह अजिजीलाई, कृतिसरा अधिकारीले नूरीन गोउहरिलाई, पूजा भण्डारीले गुनेश बेल्कसलाई र सिन्दिरा जोशीले जैनव फराहमन्दलाई पराजित गरेका हुन् । नेपाल महिला टोलीका कप्तान रिजेन्द्र राजभण्डारी रहेका छन् ।

यससँगै नेपालको पुरुष टोलीले २ अंक जोड्न सफल भएका छन् भने ब्यक्तिगत रुपमा आशिषको १.५ अंक सहित आज विजयी भएका सबै खेलाडीको समान १–१ अंक खातामा जम्मा भएको छ ।

४६औँ चेस ओलम्पियाड सेप्टेम्बर १५ देखि २७ सम्म समरकन्दमा भइरहेको छ । ओपन र महिला दुवै विधामा ११ चरणको स्विस प्रणाली क्लासिकल प्रतिस्पर्धा हुँदैछ । संस्करणमा विश्वभरबाट चार सयभन्दा बढी राष्ट्रिय टोली सहभागी छन् ।

Published : Thursday, 2026 September 17, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया