लुभुमा अन टेस्ट ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते
जावलाखेल । ललितपुरको लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।
शुक्रबार राति महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
ईभी हाइस अनियन्त्रित भई घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो । कारमा सामान्य क्षति पुगेको छ ।
घाइते हुनेहरूमा हाइसका चालक ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला अवस्था गम्भीर रहेको छ । उनको किस्ट अस्पतालमा उपचार हुँदैछ ।
महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जनको अवस्था पनि गम्भीर रहेको छ । उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा र महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जन घाइते भएका छन् ।
हाइसमा चार जना मात्र सवार रहेका थिए र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया