सस्तो लोकप्रियताका लागि प्रहरी र प्रमुखमाथि बिनाआधार लाञ्छना लगाउने कार्य गैरजिम्मेवार : अध्यक्ष अन्सारी
काठमाडौं । राष्ट्र निर्माण दलका अध्यक्ष एवम् मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले नेपाल प्रहरीसहित सुरक्षा निकायप्रति बिना प्रमाण र आधार लाञ्छना लगाएर मनोबल कमजोर बनाउने कार्यलाई तत्काल रोक्न माग गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रेस नोट जारी गरेर अध्यक्ष अन्सारीले सत्तारुढ दलका सांसदहरूबाट नेपाल प्रहरी र जिम्मेवार अधिकृतहरूमाथि आधार, प्रमाणबिना लाञ्छना लगाउनु गैरजिम्मेवारपूर्ण कार्य भएको बताएका छन् ।
उनले भने, ‘माननीय जस्तो गरिमामय पदमा आसिन व्यक्तिहरूले सस्तो लोकप्रियताका लागि देशको प्रमुख सुरक्षा निकाय नेपाल प्रहरी र यसका प्रमुखमाथि बिनाआधार लाञ्छना लगाउनु र जथाभावी अभिव्यक्ति दिनु अत्यन्त दुःखी र गैरजिम्मेवारपूर्ण कार्य हो ।’
‘कुनै पनि प्रहरी कर्मचारीबाट गल्ती वा त्रुटि भएको छभने उसलाई कानूनी र विभागीय कारबाहीको दायरामा ल्याइनुपर्छ,’ अध्यक्ष अन्सारीले भने, ‘तर, समग्र संगठनलाई नै लक्षित गरी चरित्रहत्या गर्ने र अनर्गल प्रचार गर्ने अधिकार कसैलाई छैन ।’
अध्यक्ष अन्सारीले भने, ‘नेपाल प्रहरी केवल एउटा संस्था मात्र नभएर सम्पूर्ण नेपाली जनताको शान्ति, सुरक्षा र अमनचयनको बलियो आधार हो ।’
‘मधेशको टन्टलापुर घाम, हिमालको हावाहुरी, कडा चिसो वा ठूलो झरी कुनै कुराको परवाह नगरी जनताको सेवा र सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षाकर्मीहरूको योगदानको कदर हुनुपर्छ,’ अध्यक्ष अन्सारीले भनेका छन् ।
‘जिम्मेवार निकायबाटै हुने यस्ता अनर्गल टिप्पणीले कार्यक्षेत्रमा खटिने प्रहरी जवानहरूको मनोबल गिराउने मात्र होइन, उनीहरूको काम गर्ने ऊर्जा र हौसलासमेत कमजोर बनाउँछ,’ उनले भने, ‘त्यसैले राजनीतिक वा व्यक्तिगत स्वार्थका लागि जनता र प्रहरीबीच रहेको प्रगाढ विश्वासमा भ्रम सिर्जना गर्ने कार्य तुरुन्त बन्द गरिनुपर्छ ।’
‘नेपाल प्रहरीको सम्मान, मनोबल र गरिमा जोगाउनु हामी सम्पूर्ण नागरिक र जनप्रतिनिधिको साझा कर्तव्य हो,’ अध्यक्ष अन्सारीले भनेका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र आईजीपी दानबहादुर कार्कीविरुद्ध निरन्तर व्यक्तिगत रुपमा प्रहार गरिरहेका छन् । संसदको सार्वजनिक लेखा समितिमा सुनारले प्रहरीमाथि आधारहीन र पुष्टि नै नभएका विषयमा लाञ्छना लगाएर हुर्मत लिने कार्य गरेका छन् । सांसद सुनारको सो कार्यको चौतर्फी विरोध भइरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया