तीन वर्षीया गरिमा चौधरीलाई न्याय माग गरेर बारामा प्रदर्शन
बारा । तीन वर्षीया बालिका हत्याको विरोधमा स्थानीयले वीरगञ्ज–पथलैया सडकमा अवरोध गरेका छन् ।
बिहीबार बिहानैदेखि स्थानीयले न्यायको माग गरेर सडक अबरुद्ध बनाएर प्रदर्शन गरेका छन् । घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले बाराको सिमरामा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण उक्त सडक खण्ड बुधाबर दिउँसोदेखि अवरुद्ध बनेको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले अवरुद्ध सडक खुलाउने विषयमा बुधबार पटकपटक छलफल भए पनि आन्दोलनरत पक्षले अघि सारेका माग सम्बोधन गर्न नसक्ने अवस्था आएपछि नतिजा निस्कन नसकेको बताए ।
बलात्कारपछि हत्या गरिएकी जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन् ।
इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन् ।
प्रहरीले बालिका हराएको तीन दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ ।
स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ शव भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । परिवारले शव भेटिनु अघि नै सोही २ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया