नेपाललाई जापानले अनुदान सहायता २ अर्ब ७३ करोड दिने, भट्टराईको सचिवमा बढुवा

काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

भाद्र ४ र ५ गते भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ ।

एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको सब–सेन्टर (शाखा) नेपालमा स्थापना गर्न स्वीकृति दिने पनि सरकारले गरेको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको शिक्षामन्त्री पोखरेलले बताए ।

प्रारम्भीक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु. ५,००० (पाँच हजार) का दरले वृद्धि गर्ने निर्णय भएको शिक्षामन्त्री पोखरेलले बताए ।

माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको शिक्षामन्त्री पोखरेलले बताए ।

नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय गरेको छ । भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

Published : Wednesday, 2026 August 19, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया