प्रधानमन्त्रीसँग कुनै समस्या छैन, मन्त्रीहरू फेर्नेबारे कुनै तयारी पनि छैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूसँग प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै समस्या नभएको बताएका छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको बताए । उनले भने, ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन ।’

सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय, उहाँ त एउटा कवि पनि हो । उहाँ एउटा कलाकार पनि हो । आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दका अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन । त्यसमा कुनै चिन्ता छैन ।’

यसैबीच, सभापति लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको बताएका छन् । उनले कुनै मन्त्रीहरूले सय वटा काम गरेको भए त्यसमा केही काममा प्रश्न उठ्ने विषय स्वभाविक रहेको बताए ।

लामिछानेले भने, ‘विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक दुई पाँच काममा प्रश्न आउनु स्वभाविक हो । त्यसलाई पार्टीले अस्वभाविक लिँदैन ।’

‘रास्वपाभित्र आफ्नै दल भएता पनि हामी प्रश्न सोध्दै आएका छौं,’ लामिछानेले भने, ‘यसैलाई सम्बोधन गर्न हामीले छलफल राखेका हौं । कुनै मन्त्री फेर्ने तयारी पनि छैन । कुनै छलफल पनि छैन ।’

Published : Wednesday, 2026 August 19, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया