कांग्रेसका सांसद हटाउने निर्णयको शाहद्वारा प्रतिवाद, नेकपा-एमाले सरकार बचाउन पदमुक्त गरेको खुलासा

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशसभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन् ।

बुधबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै शाहले कुनै प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित सदस्यसँग आवश्यक सोधपुछ गरी आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने बताए । प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिलाई सुनुवाइको अवसर नदिई गरिएको निर्णय उचित नहुने उनले बताएका छन् ।

‘माननीय प्रकाश देउवालाई एक्कासि बर्खास्त गर्ने निर्णय सभामुखबाट भएको छ,’ शाहले भने, ‘यसको पछाडिको नियत के हो भन्ने कुरा सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्छ ।’

प्रदेश सभा सदस्य देउवा हाल अमेरिकामा रहेको भन्ने अपुष्ट समाचारहरू बाहिर आएका छन् । देउवा करिब ११ महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेको जनाउँदै प्रदेशसभा सचिवालयले पद रिक्तसम्बन्धी टिप्पणी आदेश तयार गरेको थियो । सभामुख भण्डारीले स्वीकृत गरेपछि मंगलबार देउवालाई पदमुक्त गरिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएपछि संविधानमा रहेको व्यवस्थाअनुसार देउवालाई पदमुक्त गरिएको दाबी गरिएको छ । संसदीय दलका नेता शाहले देउवाले आफू अनुपस्थित रहेको जानकारी गराएको अवस्थामा समेत सभामुखले एकपटक पनि सोधखोज नगरी पदमुक्त गर्नु उचित नभएको बताएका छन् । उनले सभामुखको निर्णय पक्षपाती भएको समेत बताएका छन् ।

नेता शाहले सभामुखले दलीय स्वार्थ वा प्रदेशसभाको अंकगणितलाई आधार बनाएर निर्णय गर्न नहुने भन्दै सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुको साथै सभामुखबाट हुने गतिविधिको आफूहरूले निरन्तर निगरानी र विरोध गर्ने चेतावनी दिएका छन् ।

प्रदेश सभा सदस्य देउवालाई किन हटाइयो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने शाहले माग गरेका छन् ।

विश्वासको मत लिने प्रक्रियालाई सहयोग पुग्ने गरी सभामुखले निर्णय गरेको भन्दै कांग्रेस नेता शाहले त्यसप्रति आफ्नो असहमति रहेको बताए । उनले संवैधानिक र कानूनी प्रक्रियाअनुसार सरकार अघि बढ्दा आफूहरूको कुनै अवरोध नरहने बताए । कुनै छलफल नगरी एकाएक निर्णय गर्नु उचित नभएको नेता शाहले बताएका छन् ।

Published : Wednesday, 2026 August 19, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया