कांग्रेस नेता एवम् राष्ट्रियभेला आयोजक समितिका संयोजक डा.कोइरालाको अपील
आदरणीय पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्यहरू, संचारकर्मी मित्रहरू, उपस्थित दिदी बहिनी तथा दाजुभाईहरू, हार्दिक जय नेपाल !
विगत करीव एक वर्षदेखि नेपाली राजनीति अशान्त, अनिश्चितता र असहजताको भुमरीमा रुमलिरहेको छ । हिंसा, आगजनी र तोडफोडबाट जसरी आकस्मिकरुपमा राष्ट्रिय राजनीतिमा फेरबदल आयो त्यसैको दवाव र प्रभावले हाम्रो पार्टीलाई पनि गम्भीर असर पुर्याएको छ । आज म नेपाली कांग्रेस स्थापना हुँदाको परिस्थिति, तत्कालीन निरङ्कुस जहाँनीया हुकुमी शासन, मुलुकको आर्थिक सामाजिक अवस्था र त्यो पीडादायी परिवेसमा बाँचेका प्रजाको अवस्था, निरङ्कुस जहाँनीया हुकुमी शासनविरुद्ध प्रजातन्त्र अर्थात आज हामीले भन्ने गरेको लोकतन्त्रका लागि हाम्रा अग्रजले खेलेको बलिदानीपूर्ण साहसिक योगदानको उच्च सम्मान गर्दै उहाँहरूलाई स्मरण गर्दछु ।
हाम्रो पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिको कार्यकाल सामान्य अवस्थामा ४ वर्षको हुने र बिशेष असहज परिस्थिति आएमा एक वर्ष थप गर्न सकिने र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरि लिखितरुपमा माग गरेमा वा केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा चार वर्ष अगावै पनि केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउन सक्ने प्राबधान हुँदाहुँदै पार्टीका सबै तहको पदावधी चार वर्ष पुगिसकेको, २०८२ भाद्र २४ गतेको त्रासदीपूर्ण हिंसात्मक घटनामा पार्टी सभापति आदरणीय श्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी तथा केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि सांघातिक आक्रमण गरि मरणासन्न पारेको, उहाँहरू उपचाररत रहेको र अग्रज नेताहरूका निवासहरू तथा पार्टीको केन्द्रीय कार्यालयदेखि प्रदेश, जिल्ला र स्थानीय तहका कार्यालयहरू जलाएर खरानी भई कुनै केही अभिलेख समेत पनि नरहेको त्रासदीपूर्ण विपदको अवस्था र तत्कालीन समयमा आम निर्वाचन घोषणा भई हामीले भाग लिने निर्णय समेत गरेको अवस्थामा अधिवेशन वा महाधिवेशनको अवधी स्वतः थप गर्नु पर्नेमा अप्रत्यासित रुपमा केही साथीहरू विशेष महाधिवेशनको अभियानमा लाग्नु भयो । परिणामतः पार्टीभित्र गम्भीर मतभेद शुरु भयो । विवाद आयोग र अदालतसम्म मात्रै पुगेन कि पहिलो स्थानमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु पर्यो ।
एकातर्फ अकल्पनीय ढंगले परिवर्तित वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियता, लोकतन्त्र, नागरिक स्वतन्त्रता र मानव अधिकार दिनानुदिन संकुचित हुँदै गएको छ । नेपाली जनताले आठ दशकदेखि पटक पटक आन्दोलन गरेर प्राप्त गरेको लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको छभने अर्कातर्फ समाजमा धार्मिक तथा साम्प्रदायिक द्वन्द्वका घटनाहरू दिनानुदिन बढीरहेका छन् । करीव एकहप्ता पहिले सुनसरीको देवानगञ्जमा एक युवाको हत्या भएपछि भड्किएको हिंसात्मक द्वन्द्व मधेसका अधिकांस क्षेत्रमा फैलिएको छ । साम्प्रदायिक झडपमा सुनसरी र सिराहामा थप युवाहरूको ज्यान गइसकेको छ । यस घटनामा परी ज्यान गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना सहित उनीहरूको उचित स्वास्थोपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछु । साथै सामाजिक सद्भाव, धार्मिक संहिष्णुता नै हाम्रो परम्परा र राष्ट्रिय एकताको आधार भएकोले आ–आफ्नो ठाउँवाट हिंसा र उत्तेजना भड्किन नदिन तथा समाजमा शान्ति, सद्भाव र सामुदायिक संहिष्णुता कायम राख्न अहम भूमिका खेल्नका लागि सबैमा अनुरोध गर्दछु ।
मुलुकको यस्तो विषम परिस्थितिमा राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक संहिष्णुता कायम गर्न हरेक पार्टीभित्रको बलियो एकतासहित राष्ट्रिय राजनीतिक शक्तिहरूबीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको छ ।
पार्टीभित्रको वर्तमान अवस्था, मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामजिक तथा धार्मिक, सांस्कृतिक लगायतका नागरिकका जीवनसँग जोडिएका विविध गम्भीर सवालहरूमा गहन छलफल गरि देखिएका हरेक चुनौतिहरूलाई सामना गर्न सक्ने, बैचारिक, नीतिगत एवं सांगठानिक दृष्टिले स्पष्ट कार्य दिशासहित पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरि यही श्रावण २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको अयोेजना गरिएको छ ।
पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयाश, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नखेलेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्वोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौँ ।
नेपाली कांग्रेसको चौँधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरू, नेपाली कांग्रेसबाट बनेका पूर्व मन्त्री एवं सांसदहरू, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारीहरू, जिल्ला कार्यसमितिका सभापति र पदाधिकारीहरू, महानगर कार्यसमितिका सभापतिहरू, संसदीय निर्वाचन क्षेत्रीय सभापतिहरु, प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, विदेशस्थित नेपाली जनसम्पर्क समितिका प्रमुख एवं प्रतिनिधिहरू, नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा योगदान पुर्याएका अग्रज नेताहरू, लोकतान्त्रिक आन्दोलनमा कलम चलाउने वरिष्ठ लेखकहरू, पेशागत बुद्धिजीवी तथा संचारकर्मी साथीहरू सहभागी हुने यो ऐतिहासिक राष्ट्रिय भेलामा यहाँहरू सबैलाई हार्दिक आमन्त्रण समेत गर्दछु । जय नेपाल !!
मिति : २०८३ श्रावण १६ गते
डा.शशांक कोइराला
संयोजक, राष्ट्रिय भेला आयोजक समिति
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया