विपद् पूर्वतयारीका लागि मुख्यमन्त्री बानियाँद्वारा सुरक्षा निकायलाई ३ करोडको सामग्री हस्तान्तरण
हेटौँडा । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले पूर्वतयारीलाई तिव्रता दिएको छ ।
मनसुनजन्य विपदको उच्च जोखिममा रहेकाले बागमती सरकारले विपद् व्यवस्थापन पूर्वतयारीलाई प्राथमिकताका साथ अघि बढाएको हो । विपद पूर्वतयारी स्वरुप शुक्रबार हेटौँडामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुरक्षा निकायसँग समन्वयात्मक छलफल गरेका छन् । विगतका विपदबाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी अनुसार मुख्यमन्त्री बानियाँले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री बानियाँले मनसुनका कारण बढी प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरेर समयमै पूर्वतयारी गर्न सके जनधनको क्षति घटाउन सकिने बताए । उनले विगतका विपदका अनुभव नै अहिलेको सबैभन्दा ठूलो सिकाइ भएकाले अब प्रतिक्रिया होइन, पूर्वतयारीको मोडेलमा जानुपर्ने बताए ।
‘विगतको भोगाइ नै अहिलेको सिकाइ हो । बागमती प्रदेशका कुन–कुन क्षेत्रमा वर्षा र मनसुनका कारण बढी क्षति हुन सक्छ भन्ने पहिचान गरेर अहिले नै तयारी गर्नुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले सम्भावित पहिरो, बाढी र डुबान प्रभावित क्षेत्रहरूको अध्ययन गरिरहेको छ । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रिम रूपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ । उनले विपद् व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण पक्ष पूर्वतयारी भएको उल्लेख गर्दै विपद् आइसकेपछि उद्धारमा मात्र केन्द्रित हुने अभ्यास परिवर्तन गर्नुपर्ने बताए ।
‘नेपाल प्रहरीले प्रयोग गर्ने सबै उपकरण सशस्त्रले प्रयोग गर्दैन, सशस्त्रले प्रयोग गर्ने सबै सामग्री सेनाले प्रयोग गर्दैन । त्यसैले सबै निकायको विशिष्टीकृत क्षमता उपयोग गरेर विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ,’ उनले भने ।
मुख्यमन्त्री बानियाँले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । उनका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग नियमित सूचना आदानप्रदान हुने व्यवस्था मिलाइनेछ । स्थानीय तहमा रहेका प्रहरी तथा उद्धार संयन्त्रलाई थप क्षमता विकास तालिम दिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए । उनले विपदका बेला स्थानीय सरकार नै पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूको तयारी मजबुत बनाउनुपनें बताए ।
प्रदेश सरकारले सुरक्षाका तीनवटै निकायलाई विपद् पूर्व तयारीका लागि आवस्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री बानियाँले झण्डै साँढे दुई करोड ७५ लाख बराबरको सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरेका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाको लागि ७५ लाख ६२ हजार २९९, नेपाल प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र शसस्त्र प्रहरी बल नेपाललाई एक करोड १६ लाख ८३ हजार ५२२ रुपियाँ बराबरको विपद् प्रतिकार्यका लागि आवस्यक सामाग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्ट लगाएतका सामाग्रहरू रहेका छन् ।
मुख्यमन्त्री बानियाँका अनुसार नुवाकोट र मकवानपुरको हेटौँडा–थानाभ¥याङलगायतका स्थानमा आवश्यक सामग्री सुरक्षित रूपमा राखिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया